फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान सरकारको नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ – धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्यको कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई क्रिकेट मैदानको निर्माण गरिने उल्लेख छ।

सरकारले खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिने तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइने विषय नीति कार्यक्रममा समावेश गरेको छ। मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता र आकस्मिक तालिमको व्यवस्था गरिने भण्डारीले जनाइन्।

हरेक स्कुलमा खेल क्लब स्थापना गर्ने नीति सरकारले अवलम्बन गर्ने भएको छ। साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने विषयसमेत सरकारले नीति तथा कार्यक्रममा सामवेश गरेको छ।

हरेक प्रदेशमा कम्तिमा एक प्रशिक्षक सुविधासहितको एक रंगशाला र प्रशिक्षण स्थान निर्माण कार्यलाई अघि बढाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्