मोटर पार्टस्‌सहित एक जना पक्राउ

मोरङ – अवैध रुपमा भारतबाट भित्र्याइएका मोटर पार्टस्‌सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार सोमबार राति विराटनगर–६ का ३० वर्षीय सेख अलतफलाई ४ लाख ८५ हजार रुपैयाँ बराबरका मोटरपार्टसका अवैध समाग्रीसहित पक्राउ गरिएको हो।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी ल्याइएको पानी तान्ने मोटर पार्टस्, मेशिनरी पार्टस जडान गरिएको र विभिन्न कम्पनीको स्टिकर वारेन्टी कार्ड लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको बताए।

पक्राउ गरिएका अलताफलाई हाल आवश्यक अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उनले बताए। उनका अनुसार भारतबाट भित्राइएको मोटरपार्टस्‌का सामग्रीमा अन्य कम्पनीको स्टिकर तथा वारेन्टी कार्ड प्रयोग गरिएको थियो।

अलताफ मेशिनरी पार्ट्स् फिटिङ गर्दै बजारमा बिक्री गर्दै आएको प्रहरीको भनाइ छ।

प्रहरीले अलताफको साथबाट स्टिल स्टिकर १ सय ४ पिस, प्लाष्टिक स्टिकर ९२ पिस, पानी तान्ने फिटिङ मोटर ३२ पिस, क्यापासिटर ३ सय ५० पिस, एम्पेलर ३ सय ५० पिस, पम्प पार्टस् तथा रोटर २९ बोरा, स्टेटर १० बोरालगायतका सामाग्री बरामद गरेको थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्