प्रायः मलाई मभित्र एउटा होइन, दुइटा आत्मा बाँचिरहेको छझैँ लाग्छ। एउटा म असाध्यै चञ्चल, निडर, आँटी र आत्मनिर्भर अनि अर्को म असाध्यै संवेदनशील, अन्तर्मुखी र भावुक स्वभावको। एउटा म दुःखमा पनि रम्न सक्ने, अभावमा मज्जाले फुल्न सक्ने र आफ्नै पसिनामा संसार सिंगार्न सक्ने खाले छ। अर्को म सानो कुरामै अञ्जुली भरीको खुशी भेट्ने, जहिले पनि अरुको खुशी पहिले र आफ्नो खुशी पछि सोचेर काम गर्ने अनि आफ्नो अन्तर्मनको कुरा कसैलाई नसाट्ने खाले छ। यी दुईबीचको साझा चरित्र भनेको प्रायःलाई सामान्य लाग्ने कुराले यिनलाई गहिरो प्रभाव पारिरहेको हुन्छ। मेरा जीवनमा यस्ता केही गहिरा प्रभाव भनौं वा घाउ भनौं वा चोटहरु छन् जहाँ मलाई जीवनभन्दा बढी मृत्यु सजिलो र प्यारो लाग्यो।

आज त्यही मृत्युको कुरा गर्न मन लाग्यो। हुन त म सामान्य दिनहरुमा पनि मृत्युसँग डराउँदिन। यदि अबको केही क्षणमै मृत्युले मलाई डाकिन् भने पनि म हाँसीहाँसी राजीखुशी जान तयार छु किनकी अहिले श्वास फेरिरहँदासम्म पनि मैले न आफ्नो आत्मालाई ठग्ने कुनै काम गरेकी छु, न कसैको अघि शिर झुक्ने काम गरेकी छु। जे जति बाँचे, भरपूर बाँचे।

मेरो मानसपटलमा पहिलोपटक मर्नु नै उत्कृष्ट ओखती हो भन्ने लागेको सन् २०१५ सालको मुख्य भूकम्प गएको केही महिनापछि हो जब ममाथि दाइको साइनो गाँसेका कसैबाट यौनदुर्व्यवहार भयो। त्यतिबेला म २१–२२ वर्षकी थिएँ। म भौतिकशास्त्रमा स्नातकोत्तर गरिरहेको थिएँ। टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिएँ। संगीत र नृत्यको अब्बल विद्यार्थी थिएँ। रंगमञ्चको राम्रो उदीयमान कलाकारमा गनिन्थेँ। राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा कार्यक्रम उद्घोषक थिएँ। घरपरिवारको दरिलो खम्बा थिएँ, सबैले एकदमै मायाले पाल्नुभएको। साथमा म आफै एक मनपर्ने शिक्षक थिएँ कसैका लागि, कक्षा ८ देखि स्नातक तहसम्मका विद्यार्थीहरुलाई म ट्यूसन पढाउँथें। एक लाइनमा भन्दा कामका हिसाबले म डिमान्डमा थिएँ, कमाइ राम्रो थियो। जीवनका हिसाबले भन्दा घरको पीरमर्का बुझ्ने र सुल्झाउन–खोज्ने बन्दै थिएँ। पढाइ राम्रो थियो। म खुशी थिएँ।

तर त्यो एकदिनले म खुशी छु, मेरा सपना छन् र मलाई माया गर्ने परिवार छ भन्ने नै भुलाइदियो। म शारीरिक बलात्कार हुनबाट त जोगिएँ तर मानसिक रुपमा भने पटकपटक बलात्कृत भएझैं महसुस भएको थियो। त्यतिबेला हामी बसिरहेको ५ तल्ले घरको सबैभन्दा माथि कौसीको सबैभन्दा छेउमा बसेर चोकतिर हेर्दै आफू त्यहाँबाट हाम्फालेको परिकल्पना प्रत्येक साँझ गर्थेँ। त्यो परिकल्पना यत्ति विस्तृत हुन्थ्यो कि म आफ्ना कुन चाहिँ अंग कसरी कहाँनेर छरपस्ट भए, मेरा आँखा, कान, नाक, मुखले के अनुभव गरे सबै सबै स्पष्ट देख्थेँ र हरेकचोटिको दृश्यमा मेरा बूढा बा लाचार भएर हार मान्नुभएको पनि देख्थेँ। हो, त्यो अन्तिम दृश्यले नै हो मानसिक रुपमा हरेक साँझ छतबाट हाम्फाल्ने रिहर्सल गरेर पनि मेरो आत्माले मलाई हाम्फाल्नबाट रोकेको!

दोस्रो परिघटनामा चाहिँ मैले मानसिक रिहर्सलमात्र होइन, भौतिक रुपमै केही पटक प्रयास गरेँ। मलाई याद छ, एकदिन मैले १० वटा सिटामोल खाएको थिएँ, सुरुमा सब सामान्य लाग्यो। केही समयमा निरन्तर वान्ता भयो, आन्द्रा नै बाहिर निस्केला जस्तो। टाउको नै फुट्लाजस्तो, पेटमा नमज्जाको सकस। अनि म २ दिनसम्म सुतेको सुत्यै भएँ। कसैले सुइँकोसम्म पाएनन्। अहिले सम्झँदा लाग्छ- त्यही क्षण प्राण गएको भए पनि सबैले प्राकृतिक मृत्यु सोच्थे होलान्। त्यतिबेला मैले कत्ति धेरैसँग हारगुहार गरेँ, त्यो सुसाइडल साइकललाई ब्रेक गर्न। तर आफ्नो आत्मले नआँटेसम्म केही नि नहुने रहेछ। यो सन् २०१८–२०१९ बीचमा भएको कुरा हो।

त्यतिबेला भर्खरै विश्वको सबैभन्दा अग्लो शिखर चुमेर गहिरो ध्यानमुद्राबाट फर्केको म! त्यसमाथि पनि विश्वकै उच्च प्रतिस्पर्धात्मक खगोलशास्त्रसम्बन्धी १ महिने अन्तर्राष्ट्रिय वर्कसप पूरा गरी क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भेटी नेपाल फर्केको! त्यतिबेला मेरो अल्फा माइन्ड एक्टिभेट थियो। म मेरो परमआत्मासँग सीधै साक्षात्कार गर्न सक्ने मेन्टल स्टेटमा थिएँ। जीवनको सबैभन्दा सुन्दर अनुभूति बाँचेको पल थियो त्यो। जसरी शान्त तलाउमा ढुंगाले हान्दा तरंग पैदा हुन्छ र केही समय अराजक स्थिति रहन्छ, मेरो जीवनमा पनि बेजोडको आँधी चल्यो। ममाथि केही महिनाअघि सँगै मर्नसम्म तयार भनेर गफ ठोक्नेहरुले आत्मीय भएको स्वाङ पार्दै मेरो पिँठपछाडि चरित्रहत्याको नमीठो प्रयास गरे। मेरो नाम थुप्रैसँग जोडियो। यसको फलानासँग चक्कर छ, यो फलानासँग सुती। यो अहिलेसम्म प्रतिभाशाली र सफल भएको त यही भएर पो रहेछ, यसको स्पोन्सर त्यो आदि इत्यादि। अनि नजिक भनाउँदाहरु भिडकै पछि लागे।

सगरमाथा आरोहण गर्दै रोजिता।

ती ब्वाँसाहरुले मेरो अगाडि आएर मुखामुख भन्ने आँट गर्न सकेनन् तर विश्वासको मुकुट लगाएर छुरा घोपिरहे। कोही सगरमाथा चढेपछि तिर्नुपर्ने आरोहण शुल्क नतिरी भाग्दै हिंडे अनि कोही आरोहणकै नाममा आरोहण टोलीकै नाममा अरुलाई ठग्दै हिंडेका रहेछन् अनि कोही चाहीं इर्ष्याले जलेर चरित्रहत्या गर्न हल्ला फिजाउँदै हिँडेछन्। हल्ला चल्यो। दरै चल्यो। तिनले मेरो कर्मक्षेत्रदेखि नजिकका साथीसंगी कसैलाई छोडेनन्। सुरुसुरुमा मैले पटक्कै वास्तै गरिन, वाहियात कुरा त हुन् भनेर। तर अति भएपछि सहन सकिनँ। त्यतिबेला घर, समाज, जिम्मेवारीले यस्तरी थिचेको थियो कि अरुलेझैँ मैले ढाँट्न सकिनँ, सबै चटक्क छोडी आफ्नो बाटो मात्र हेर्न सकिनँ। बरु आफूलाई सोमरसको चंगुलमा सुम्पिएँ। नजिक भनाउँदाहरुले पनि कहिल्यै मुखामुख बसेर मलाई सुन्ने प्रयत्न गरेनन्। म बाहिरबाट संग्लो देखिए पनि भित्रबाट खोक्रिंदै गएको थिएँ। ममाथि ब्रह्मास्त्र प्रहार भएको थियो। केही महिनाअघिसम्म स्वर्गको टुक्राजत्तिकै सुन्दर मेरो संसार दोस्रो युद्धपछिको हिरोसिमा र नागासाकी जस्तै पूरै ध्वस्त थियो। सायद म त्यतिबेला इजी टार्गेट भइदिएँ। त्यो समूहमा सबैभन्दा कान्छी, सबैसँग घुलमिल भएकी साथीसंगीसित पनि मज्जाले अंगालो हालेर सौहार्दता साट्ने, सबैभन्दा तेज थिएँ तर म एउटा आर्थिक रुपमा गरिब परिवारकी छोरी त्यसमा पनि कुँजो सामाजिक परिबन्धनमा बाँधिएकी। तिनले गोहीको आँसु खसालेपछि सबैले मानिहाल्ने र एकचोटी चरित्रहत्या गरेपछि त सजिलै मेरो औचित्य समाप्त हुन्छ भन्ने तिनले सोचे। म यत्ति भल्नरेबल थिएँ, ममाथि मैले सबैभन्दा बढी विश्वास र माया गरेको पात्रले नै कू गर्‍यो, जुन कथा कुनै दिन फेरि भनौंला।

भन्नेले त कत्ति सजिलै भन्यो- यो फलानासँग सुती। सुरुमा मलाई यो वाक्यसँग कुनै समस्या थिएन तर जब सुत्नु भनेको सेक्स गर्नु हो भन्ने बुझेँ मेरो भ्रम, विश्वास, सत्य सब चकनाचुर भयो। कन्पारा तात्यो। अझ जब मेरो परिवार, पढाइ र कलालाई धरी तिनले बाँकी राखेनन्, मेरो सहनशीलताको बाँध टुट्यो। मैले साथी पनि हेरिन, दिदीदाइ पनि मानिन, गुरुसुरु कसैलाई मतलब गरिन। म पहिलोपटक आत्मरक्षामा उभिएँ र आक्रमण गर्न आएका माथि जाइलागेँ। बस् यत्ति मात्र भनें, ‘अहँ, अब म सहन्न।’ मर्न प्रयत्नरत म पहिलोपटक आत्मरक्षामा मार्न तयार थिएँ। त्यसपछि ती आक्रमणको क्रम रोकियो। मेरो सबैभन्दा ठूलो कमजोरी मेरो परिवार हो, सायद सबैको त्यस्तै होला। मैले मेरो परिवारका सामू पहिलोपटक आफ्नो यथार्थ खोलेँ, आफूमाथि भएका शोषण र छलकपटदेखि आफूले नशाको बाटो रोजेकोदेखि सबै विस्तृतमा पोखेँ। अनि बल्ल बन्द भयो मानसिक हिंसा र चरित्रहत्याको त्यो शिलशिला। अहिले सम्झँदा लाग्छ- मैले किन त्यसरी ती ब्वाँसाहरुलाई आफूमाथि खेलबाड गर्न दिएको होला क्षणिक नै किन नहोस्! मैले त्यतिबेला भावनामा अन्धो नहुनुपर्थ्यो, मैले बेलैमा तिनले रचेको चक्रव्यूह किन नदेखेको होला! किन चाहिँ  ‘तिमी त मेरो आफ्नै बहिनीझैँ लाग्छ। आफ्नै छोरीझैँ लाग्छ’ भन्दैमा ज्यान फालेर विश्वास गरेको! किनचाहिँ तिनको राजनीतिक दाउपेच नजानेको! बुद्ध भन्नुहुन्छ, ‘कुनै पनि मान्छेले प्रशंसै प्रशंसा मात्र पनि पाउँदैन र निन्दै निन्दा मात्र पाउँदैन।’ मैले यस्तो युनिभर्सल ट्रुथ किन भुलेको होला!

यहीबीच मलाई असाध्यै माया गर्ने मेरो आत्मीय मित्र मैले गुमाएँ, हामी दुवैले विभिन्न सुसाइड गर्ने एकअर्काको योजना साटेका थियौं र सँगै कार्यान्वयन गर्ने पिंकी प्रमिस गरेका थियौं तर उसले मलाई थाहा नदिई गयो वा उसले मेरो बाटो छेक्यो- मैले अझै बुझेको छैन।

मेरो अनुभवले के भन्छ भन्दा किताब वा चलचित्रमा जस्तो मान्छे भनेको पूरै सेतो वा पूरै कालो हुँदैन। कोही मान्छे पूरै राम्रो वा पूरै नराम्रो भन्ने हुँदैन। राम्रो वा नराम्रोको परिभाषा पनि खासमा निष्पक्ष हुँदैन। हरेक काल, हरेक युग, हरेक सन्दर्भ अनुरुप हरेकका लागि यो फरकफरक हुन्छ। म झुण्डले मान्ने राम्रोलाई मात्रै राम्रो वा झुण्डले मापन गरेको नराम्रो मात्रै नराम्रो मान्दिन। हरेक मान्छेभित्र राम्रो नराम्रो दुबै बराबरी हुन्छ, कुनबेला कति मात्रामा के हाबी छ भन्ने मुख्य कुरा हो। म आफैँलाई राम्रो छु पनि भन्दिन। नराम्रो छु पनि भन्दिन। त्यो समयले बताउने कुरा हो। यो ब्रह्माण्डमा म जस्तो एउटा सूक्ष्मभन्दा सूक्ष्म जीवले आफ्नो भूमिका निभाएँ। बस् त्यत्ति। त्यसैले जसले मलाई शोषण गरे, म ती व्यक्तिसँग भन्दा पनि तिनको आत्मा वा अन्तर्शक्तिसँग रुष्ट छु, कहिलेकाहिँ तिनीहरु देखेरै साह्रै दया पनि लाग्छ। र सायद, मसँग रुष्ट हुने पनि धेरै होलान् एण्ड इट इज अलराइट विथ मी। म शारीरिक रुपमा त जिउँदै छु तर त्यो घटनाले मभित्र अरुलाई विश्वास गर्ने एउटा निर्दोष बालिकालाई चाहिँ मार्‍यो। अहिले म झट्टै कसैलाई विश्वास गर्नै सक्दिन, सुरुमै दिमागमा डिफेन्स मेकानिजम एक्टिभेट हुन्छ र म सुरुमै नेगेटिभ कन्सिक्वेन्सेस सोच्न थाल्छु।

मेरो तेस्रोपटकको अनुभव चाहिँ भर्खरैको हो, केही महिनाअघि मात्र। पहिले म थोरै पृष्ठभूमि भन्छु है त। म सानैदेखि गणितको राम्रो विद्यार्थी र सानैदेखि मैले छात्रवृत्ति पाएरै स्कूलदेखि प्लस टू हुँदै स्नातकोत्तरसम्मको पढाइ पूरा गरेँ। सन् २०१८ सम्ममा मैले तारा, तारापुञ्ज र आकाशगंगासम्बन्धी गरेका ३ वटा साना रिसर्च तथा स्नातकोत्तरको शोधपत्रका आधारमा मलाई अन्तर्राष्ट्रिय रुपमा प्रसिद्ध छात्रवृत्ति ऊर्ट पुरस्कार प्रदान गरियो। त्यही पूर्ण छात्रवृत्तिका आधारमा म उच्चशिक्षाका लागि घरपरिवार, प्रेम, साथीभाइ, कामधाम, देश, विगतका अनुभव तथा उपलब्धि सब सब पछाडि छाडेर शून्यमा झरेँ र यहाँ विदेशमा एस्ट्रोनोमी अध्ययनको अन्नपूर्ण आरोहण गर्न आएँ। त्यसपछि के भयो थाहा छ? म जीवनमै पहिलोपटक फेल भएँ।

कुरा के भनेँ नि, हामीलाई वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जेनेरल थियरी अफ रिलेटीभिटी अध्यापन गराइएको थियो। म त्यो कोर्समा यस्तरी डुबेकी थिएँ कि मैले अघिल्लो सेमेस्टरको ९०% समय त्यही विषयमा बिताएँ। मेरो परीक्षा पनि राम्रो भयो, म खुशी थिएँ तर नतिजा प्रकाशित हुँदा म फेल भएँ। मैले यो सहनै सकिन। कारण- म फेल भएर होइन कि म निर्धक्क थिएँ मेरो परिक्षा राम्रो भयो भनेर र म फेल हुनुको अर्थ मैले बाँचेको निर्धक्कता कि त भ्रम हुनुपर्छ कि कुनै प्राविधिक त्रुटि। मैले मेरो प्राध्यापकलाई मध्यरातमै इमेल पठाएँ, सबैजना हिउँद बिदामा भएकाले एक महिनापछि मात्र छलफल गर्न सकिने जानकारी पाएँ। अरे! एक महिनापछि त रि–टेक परीक्षा थियो। मैले आफू फेल भएँ भन्ने कुरा पचाउनै सकिनँ, खाँदा, सुत्दा, बस्दा, उठ्दा, हिँड्दा, बोल्दा…….अहँ मैले स्वीकार्नै सकिनँ। किनभने एकः यो विषय मेरो रुचिको क्षेत्र थियो, दुईः यो विषयमा मैले सबैभन्दा धेरै समय लगानी गरेको थिएँ, तीनः म राम्रो नतिजा आउँछ भन्ने कुरामा कन्फिडेन्ट थिएँ र अब मेरो मेहनतको महल मरुभूमिमा धसिरहेझैँ भाउन्न भयो मलाई।

विश्वविद्यालयमा रोजिता।

मेरो घर अघि एउटा ठूलो नदी छ। एकदिन म त्यो नदीमाथिको पूलमा हिँडिरहेको थिएँ। एकछिन टक्क रोकिएँ। नदीमा घोत्लिँदै परीक्षाकै कुरा सोचिरहेँ, हरेक प्रश्नको उत्तर दिमागमा स्लो मोशनमा घुमिरह्यो र मैले नदीमा हाम्फाल्ने निर्णय गरेँ। पूलको बार मेरो उचाइभन्दा थोरै मात्र कम थियो, सजिलै हाम्फाल्ने स्थिति थिएन। अब बार चढ्ने जुक्ति सोच्न थालेँ, वरिपरि टाढाटाढासम्म कोही मान्छे हिँडडुल गरिरहेका छन् कि छैनन् भनी हेरेँ। चारैतिर सन्नाटा……..कोही थिएन। मैले उपाय लगाएर बार चढेँ। त्यत्तिकैमा दिमागले एकैछिनमा कमेडी पारा निकाल्यो, ‘होइन, मलाई त पौडी खेल्न आउँदैन। यदि म हाम्फालेँ र छटपटिएँ भने मलाई बचाउने कोही नि छैनन्। होइन फेरि नदीले बगाउँदै मलाई बेल्जियम वा जर्मनी पुर्‍याइदिए भने मलाई चिन्ने घर खबर गर्ने कोही हुँदैनन्। होइन यस्तो गर्नु हुँदैन। बित्थामा मैले गर्दा अर्को नेपालीलाई फेरि छात्रवृत्ति नदेलान्।’ म लुरुक्क परेर घर फर्किएँ। त्यो रात म निदाउनै सकिन। मन यस्तो बैचेन थियो कि कसरी लेखौँ। म सेतो सिलिङमा घोत्लिरहेँ। अचानक दिमागमा घन्टी बज्यो। ‘ल यसरी हुँदैन। यो रोजिता हुँदै होइन। मात्र तीन सेकेण्डमा मेरो मुड, पारा, हाउभाउ बदलियो। भोलिपल्टदेखि म फेरि परीक्षाको तयारीमा जुटेँ।

एक महिनापछि म रि–टेक दिन परीक्षाहलमा पुगेँ। म कापीमा उत्तर लेखिरहेकी थिएँ। मेरो प्राध्यापक छेउमै आउनुभयो र मलाई मसिनो स्वरमा ‘रोजिता, तिमीले मेरो इमेल पढ्यौ?’ भनेर सोध्नुभयो।

‘अहँ!’

‘मैले हिजो राति पठाएको थिएँ।’

‘म्याम मैले एकहप्तादेखि इन्टरनेट नै चलाएको छैन,’ म पूरै उत्तर लेख्नमै मग्न थिएँ।

परीक्षा सकियो। उत्तरपुस्तिका बुझाउन म म्यामतिर गएँ। उहाँले पठाउनुभएको इमेलको प्रिन्ट कपी मलाई दिनुभयो। ‘रोजिता, तिमीसँगको कुरापछि मैले तिम्रो उत्तरपुस्तिका हेरेँ। तिमी अघिल्लो परीक्षामा नै पास भएकी रहेछौ। तिमीले यो परीक्षा दिनुपर्दैन। परिवारमा कोभिड भएका कारणले रिप्लाई गर्न ढिला भयो।’ म त चन्द्रमै पुगेजस्तो भएँ- कत्ति खुशी कत्ति! म थोरै रिसाएँ पनि। मैले कत्रो मानसिक तनाव सहेँ, मेरो एक महिना खेर गयो भनेर। दोस्रो परीक्षामा मेरो नतिजा पहिलेको भन्दा अझै उत्कृष्ट आयो। तर मेरा लागि पास वा फेल वा अंकभन्दा पनि मेरो आत्मविश्वास, मेहनत र बुझाइ सही थियो वा मैले बुझेको आत्मविश्वास वा मेहनत वा बुझाइ केवल भ्रम मात्र थियो भन्ने निर्क्यौल गर्ने निर्णायक क्षण थियो त्यो।

मलाई सतही रुपमा चिन्ने प्रायः सबैले रोजिता सफलताको पर्यायवाची हो भन्छन्। मभित्रका दुई आत्मालाई चाहिँ म एउटा खेतझैँ लाग्छ जसमा हिलो, मैलो, कंकड, धूलो, मलजल सबैसबै छ र जसले करौंडौं डोजर, ट्र्याक्टर, हिलो, कुटोकोदालो सहेर आत्मचेतनाको बाली रोप्दैछ। जसलाई जीवनका चम्किला, सफा, सेता, राता, हरिया, पहेंला रंग मात्र होइन- मैला, धमिला काला, खैरो, कैलो, खरानी रंग पनि असाध्यै प्यारो लाग्छ। जो जीवनको विचित्र वैजनी रंगलाई पनि उमार्छ र शीतल निलो रंगमा रमाउँछ। जसका दृश्य रंगभन्दा अदृश्य रंग अझ बढी रोचक, रहस्यमयी र अनौठा छन्। हो मभित्रको दुई आत्माले गोडेको मरुपी खेत एउटा त्यही लगनशील इन्द्रेणी हो जसले लड्न र लडेर उठ्न सिकेको छ। त्यसैले, म आफूभित्रको ताराहरुलाई पनि स्वीकार्छु र ब्ल्याक होललाई पनि। अनि यतिखेर यो कस्मिक सुपमा जीवन रुपी स्वादिलो खाना तयार पार्ने रेसिपी रच्दैछु। सन् २०१५ देखिको मेरो ग्राफ हेर्दा सायद त्यो सुरुको सुसाइडल टेन्डेन्सी अझै पनि ममा हुनुपर्छ। अझै पनि मलाई केही अकल्पनीय समस्या आइपर्‍यो भने सायद म मर्ने बाटो खोज्छु होला। त्यो मस्तिष्कको कुनै भागमा लुकेको हुनुपर्छ तर अहिले म आफ्नो मानसिक समस्यालाई चिन्ने भइसकेँ र मेरो यो आफैलाई स्वीकार्ने माया गर्ने मभित्रका दुई रोजिताहरु छन् नि तिनले मलाई त्यो नकारात्मक भावनाको सामना गर्न पनि मेरो साथ छोड्ने छैनन् भन्ने मलाई राम्ररी थाहा छ।

(काठमाडौंमा जन्मिएकी रोजिता बुद्धाचार्य १४ वर्षदेखि रेडियो, अनलाइन न्यूजसाइट, म्यागजिन तथा टेलिभिजनमा निरन्तर रुपमा पत्रकारका रुपमा कार्यरत छिन्। उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘आजको विज्ञान’ कार्यक्रमकी प्रस्तोता हुन्। उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी छिन्। उनी विश्वप्रसिद्ध पुरस्कार ऊर्ट छात्रवृत्तिबाट सम्मानित भई अहिले नेदरल्याण्डस्को लाइदेन विश्वविद्यालयमा खगोलशास्त्र अनुसन्धानमा स्नातकोत्तर गरिरहेकी छिन्। उनले मे २३, २०१८ मा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टोलीको टोलीनेताका रुपमा सगरमाथाको सफल आरोहण गरेकी हुन्। पत्रकारिताबाट नै रंगमञ्चको यात्रा पनि आरम्भ गरेकी उनले सूइना कर्णालीका, चारुमती, इन द रेड एण्ड ब्राउन वाटर, थ्री पेन्नी ओपेरा, मालिनी, एन्ना इन द ट्रपिक्स, आन्ना फ्राङ्क लगायतका नाटकमा अभिनय गरेकी छिन् भने साहित्यकार झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’ मा आधारित बायोपिक चलचित्रमा रोजिताले घिमिरेकै चरित्रमा अभिनय गरेकी छिन्।)

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्