ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका सानासाना अपेक्षा

ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले जितेका छन्। औपचारिक घोषणा भने बाँकी छ।

सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारसँग अत्यन्तै फराकिलो मतान्तरका साथ उनी महानगरको नेतृत्व हाँक्न पुगेका छन्। महर्जनले व्यन्जनकारलाई १७ हजार हाराहारी मतले पछि पार्दै दोस्रो पटक मेयर बनेका छन्। २०७४ को निर्वाचनमा पनि महर्जन र व्यन्जनकारबीच नै भिडन्त भएको थियो। अघिल्लो पटक कडा प्रतिस्पर्धाबीच ३ सय २३ मतले मात्रै जितेका महर्जनले यसपटक सत्ता गठबन्धनको समर्थनमा उठ्दा फराकिलो मतान्तरको जित निकालेका छन्।

अघिल्लोपटक मेयर बनेर मन जितेपछि महानगरबासीले भारी मत दिएर फेरि पनि चिरिबाबुलाई मेयरमा जिताएका हुन्। अघिल्लोपटक सार्वजनिक गरेको घोषणापत्रमा भएका तर गर्न बाँकी कामसहित नयाँ योजना र विकासका साथ काम गर्ने महर्जनले प्रतिबद्धता जनाएका छन्। महागरबासीले पनि महर्जनलाई पत्याएका छन्। त्यसो त चिरिबाबुलाई दोस्रो कार्यकालको लागि महागरको उम्मेद्वार बनाउने कि नबनाउने भन्नेमा कांग्रेसभित्र केहि विवाद भने भएको थियो। तर त्यसलाई सल्टाएर उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले महर्जनको मत देखेर निर्णय सही भएको जनाएको छ।

भारी मत ल्याएर महानगरको मेयरमा दोहोरिएका महर्जनसँग महानगरबासीका अपेक्षा पनि बढेका छन्।  मंगलबार अन्तिम मतपरिणाम आउने भएपछि ललितपुर महानगरको मतगणास्थल वरपर उनका समर्थकले दिउँसैदेखि मर्हजनको विजय जुलुस निकालेका थिए। साँझसम्म आइपुग्दा महर्जनलाई भेटेर अविर खादा लगाउने र विजय जुलुस गर्नेको संख्या थेगिनसक्नुभएको छ।

महानगरपालिका वडा नम्बर ७ की फरिन्दा महर्जनले चिरिबाबुसँग दुईवटा अपेक्षा राखेकी छिन्।

सडकमा हुँदै आएको ट्राफिक जाम घटाउने र छरपस्ट भएका बिजुलीका तारहरु व्यवस्थापन गरिदिए सडक सुन्दर हुने उनले बताइन्।

०७४ को निर्वाचनमा काम गरेकै भएर महानगरबासीले उनलाई फेरि मेयर बनाएको भन्दै बाँकी काम गरेर मत जस्तै मन पनि जित्न उनले मर्हजनसँग आग्रह गरेकी छन्।

वडा नम्बर २३ धापाखेलकी तारा थापाले ढल व्यवस्थापन, भत्किएको सडक निर्माण र पानीको पाइप व्यवस्थापन महर्जनको प्रमुख र तत्काल पूरा गर्ने जिम्मेवारी औंल्याएकी छन्।

उनले देश सञ्चारसँग भनिन्, ‘महर्जनले अघिल्लो कार्यकालमा ढल व्यवस्थापन गर्न खोज्दा सडक भत्किएको थियो, पानीको पाइपहरु चारैतिर लथालिङ्ग भएका थिए अब उहाँले त्यो बनाउनुहुन्छ होला भन्ने महानगरबासीको अपेक्षा छ।’

ललितपुर महानगरपालिका वडा नम्बर ५ मा ठेलागाडामा तरकारी व्यवसाय गर्दै आएकी सानुकान्छी लोले मेयरमा पुन निर्वाचित महर्जनलाई समस्या समाधान गरिदिन आग्रह गरेकी छिन्।
महागरपालिकाले नाङ्लो र ठेलागाडा व्यापारलाई देखिनसहने भन्दै आफुहरुलाई पनि गरिखान पाउनुपर्ने उनको दुखेसो छ।

उनले देश सञ्चारसँग भनिन्,  ‘१३,१४ बर्षदेखि ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र १३ का विभिन्न स्थानमा ठेलागाडामा तरकारी बेच्दै आएको छु तर हामीलाई सजिलो छैन। लुकिछिपी व्यापार गर्नुपर्छ । सजिलो गरी व्यापार गर्न देऊ भनेर महानगरपालिकामा धेरै पटक आग्रह गर्न गएका छौँ तर हामीले नदेख्ने गरी सब्जी बेच भनेर महानगरपालिकाले जवाफ दिन्छ।’

वडा नम्बर १३ निवासी ओमप्रसाद तिमिल्सिनाले सडक बिस्तारलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

लामो समयदेखि व्यापार गर्दै आएका उनले ललितपुर महानगरपालिकाभित्रको सबै सडक पिच भइदियो भने सहज हुने बताए।

यस्तै वडा नम्बर १४ का नवनिर्वाचित अध्यक्ष अमृतजंग महतले अघिल्लो कार्यकालमा स्थानीयको मत जित्ने गरी काम गरेकाले महानगरबासीले चिरिबाबुलाई पत्याएको बताएका छन्।

उनले देश सञ्चारसँग भने, ‘महागरपालिकाका २९ वटा वडामध्ये सबै ठाउँमा सोचे जसरी विकास निर्माणका कामहरु गर्न सक्नु भएको थिएन । दोहोरिएपछि झन् राम्रोसँग गर्नुहुन्छ ।’

महानगरभित्रका सबै सडक पिच गर्न, ढल व्यवस्थापन र सीसी क्यामेरा जडानको काम सम्पन्न नभएकाले यो कार्यकालमा पूरा गर्ने उनले विश्वास व्यक्त गरे।

महर्जनले बनाउने भनेको फ्लाई ओभरको काम सम्पन्न हुन नसक्नुमा चाहिँ महानगरपालिका र केन्द्र सरकारबीचको उचित समन्वय अभाव रहेको उनले बताए। उनी कांग्रेसबाट निर्वाचित भएका हुन्।

२०७४ को निर्वाचनबाट चुनिएका वडा नम्बर रामबाबु महत भन्दा प्रभावकारी काम गर्ने योजना रहेको उनले सुनाए।

रामबाबु पनि कांग्रेसबाटै निर्वाचित भएपनि आफुँग युवा जोस जाँगर र शिक्षा भएको कारण वडालाई राम्रोसँग हाँक्ने उनले बताए।

तस्बिरहरु: सुलभ श्रेष्ठ

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्