कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (मे १५ देखि २१ सम्म)

संक्रमण दक्षिण एसियामै धेरै कम

विश्वबाट कोरोना प्यान्डेमिक हराउँदै गर्दा अमेरिकामा फेरि एक पटक यस संक्रमणले नयाँँ लहर ल्याउन खोजेजस्तो देखिन्छ।युरोपमा कोरोना संक्रमण क्रमसः घट्दै गए पनि त्यहाँका केही पश्चिमी देशहरूमा संक्रमण दर अझै ३०% देखि ८०% सम्म रहेको देखिन्छ। अस्ट्रेलियामा पनि पछिल्लो समय दैनिक संक्रमणमा केही वृद्धि भई संक्रमण दर ६०% नाघेको छ। त्यहाँ दैनिक ५० हजार नयाँँ संक्रमण देखापरिरहेका छन् भने न्युजिल्यान्डको अवस्था पनि लगभग उस्तै छ। त्यहाँको संक्रमण दर ५०% जति छ जुन निकै उच्च हो।

विश्वमा प्यान्डेमिक सुरु भएदेखि करिब पहिलो दुई वर्ष निकै शान्त रहेको अस्ट्रेलिया क्षेत्रमा यसै वर्षको सुरुवातीसँगै आएको प्यान्डेमिकको नयाँँ र अति ठूलो लहर हाल पनि यथावत नै देखिन्छ।

पूर्वी एसिया हाल केही शान्त हुँदै गएको अवस्था देखिए पनि भियतनाम, ताइवानमा दैनिक संक्रमण दर अझै ७०–९०% देखिन्छ जुन विश्वकै सबैभन्दा उच्च हो।

त्यस्तै, पछिल्लो समय उत्तरकोरिया कोरोना संक्रमणको नयाँँ सिकार बनेको छ जहाँ वर्ल्ड मिटरका अनुसार दैनिक २–३ लाख नयाँ संक्रमण र दैनिक ५–१५ जना कोरोना मृत्यु देखा परिरहेको छ। उत्तर कोरियाको कोरोना संक्रमणबारे अधिकांश सञ्चार माध्यम तथा सम्बन्धित निकायले अनुमानित तथ्यांक उपलब्ध गराए पनि डब्लुएचओले हालसम्म त्यहाँको संक्रमण संख्या र मृत्यु शून्य नै देखाउने गरेको छ।

फेरि पनि अमेरिकाको कुरा गर्ने हो भने २ महिनाअघि कोरोना संक्रमणको अवस्था निकै शान्त रहेको त्यहाँ हाल फेरि दुई महिनादेखि दैनिक संक्रमणमा वृद्धि हुन थालेको छ।

दुई महिनाअघि दैनिक संक्रमण करिब २००००सम्म झरिसकेको अमेरिकामा हाल १००००० नाघेको छ भने दैनिक संक्रमण दर ५% बाट २०% नाघेको छ।

यसरी विश्वभरि कोरोना प्यान्डेमिकको अवस्था फरक–फरक भए पनि प्यान्डेमिक र कोरोना संक्रमणको समग्र अवस्था घट्दो प्रवृत्तिकै देखिएको छ।

त्यस्तै, दैनिक नयाँ संक्रमणमा तल–माथि भए पनि समग्र कोरोना मृत्यु घट्ने क्रममै देखिनुले प्यान्डेमिकको अन्त्य चाँडै होला भन्ने आशा गर्न सकिन्छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको वास्तविक चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ मे ४ देखि १८, कोकोरोना प्यान्डेमिक सम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण केही स्थिर रही घटेको देखिन्छ जुन गत हप्ताजस्तै दैनिक २५००–३५०० पुगेको छ। त्यस्तै, दैनिक मृत्यु पनि केही तलमाथि भए पनि स्थिर देखिन्छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाल, भारतमालगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने गत साता बंगलादेशमा दैनिक संक्रमणमा सामान्य वृद्धि भएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर १.०% हाराहारीमा छ। तर, अर्कोतिर हाल पनि पूर्वी एसिया र पश्चिमी युरोपमा दैनिक संक्रमण दर ५०% भन्दा माथि छ भने अमेरिकामा पछिल्लो समय कोरोना संक्रमण दरमा निकै वृद्धि भएको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ मे १५ देखि २१ अर्थात् ०७९ साल जेठ १ देखि ७ गतेसम्मको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेठ ७गते शनिबारसम्म देशभरि जम्मा ७१ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या ९७९०६२ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ६६ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२ मा स्थिर छ।

गत हप्ता जम्मा १६७२६ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १६१८२ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमणअनुपात ६२.०६% देखियो जुन दुई हप्ताअघि ७४.७५% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.२१% देखि अधिकतम ०.६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.४३% रह्यो जुन दुई हप्ताअघि ०.४% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। पछिल्लो समय भारतमा पनि दैनिक कोरोना संक्रमण स्थिर देखिएको छ। विश्वका केही देशमा भने हाल पनि कोरोना आतंक जारी छ। नेपालमा गत हप्ता वि.सं २०७९ जेठ १ देखि ७, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ, कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्