कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ विजयी

मोरङ – उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका श्रेष्ठले ६ हजार ४ सय १७ मत हासिल गर्दै विजयी भएका हुन्। ४४ वर्षीय श्रेष्ठले निकटतम प्रतिस्पर्धी स्वतन्त्रतर्फका उम्मेद्वार कृष्णप्रसाद बराललाई ४ सय ६५ मतको अन्तरले पराजित गरेका हुन्। बरालले ५ हजार ९ सय ५२ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५ मत पाएर तेस्रो स्थानमा चित्त बुझाए।

उपमेयरमा नेकपा एमालेकी गीता खड्का ६ हजार ४ सय १३ मतसहित विजयी भइन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार विनोद कट्वाललाई ३ हजार ५७ मतान्तरले पछि पारिन्। कट्वालले ३ हजार ८ सय २१ मत पाएका थिए।

कटारीमा एकीकृत समाजवादीतर्फका उम्मेदवार हृदयबहादुर तामाङले ३ हजार ७ सय २३ मतसहित तेस्रो स्थानमा रहे।

१४ वटा वडा रहेको कटारीमा ७ स्थानमा नेकपा एमालेले वडाध्यक्षमा जित निकालेको छ। त्यसैगरि कांग्रेसले ३, स्वतन्त्रतर्फ २ र नेकपा माओवादी र एकीकृत समाजवादीले समान एक वडामा जित निकालेको छ।

वैशाख ३१ कटारी–१० स्थित जनता कालिका माविमा मतदानपछि भएको विवादका क्रममा गोली चल्दा एक युवकको मृत्यु भएको थियो। सो घटनापछि रोकिएको मतदान प्रक्रियाको नतिजा बुधबार आएको हो।

गोली चल्दा सोही वडामा स्वतन्त्रतर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका गौरबहादुर कट्वालका भतिज १९ वर्षीय वीरबहादुर कट्वालको मृत्यु भएको थियो।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्