काठमाडौँ मेयर जितेपछि बालेनलाई एउटा पत्र

आदरणीय नवनिर्वाचित मेयर बालेन भाइ,

सादर स्नेहपूर्ण नमस्कार!

सर्वप्रथम त तपाईलाई हार्दिक बधाई र शुभकामना पनि। तपाईँलाई हामी काठमाडौं महानगरवासीले विश्वास गर्‍यौँ, पत्यायौँ र मेयर बनायौँ। यो एउटा विशेष चर्चा, रस्साकसी र पेचिलो अवस्थाबीच तपाईँलाई पत्याएर देशमा बढ्दै गएको परिवारवाद, अहंकार र धमासवाद, भ्रष्टाचार, स्वार्थवाद, धनवाद, डनवाद र गफीगड्डीवाद विरुद्धको मत हो। अर्को पक्षमा तपाईँहरु जस्ता युवाहरुको जोश-जाँगर, ज्ञान, पहिचान र जिम्मेवारी बोधप्रतिको नागरिक आशा र भरोसाको मत पनि हो। युवा जागरणको आशा र बेचैनी दुवै छ देशमा।

ठुला पार्टीका विगतका क्रियाकलाप र यो पटकको उम्मेदवार चयनमा नै काठमाडौंवासी खिन्न थिए। मुख्य रुपमा परिवारवाद र अहंकार हुर्काएको बाहुल्यले नगरवासी देखाइदिने ठाउँमा थिए। ठुला राजनीतिक घरानाका र अनुभवी हुँ, मेरो विकल्प छैन भन्नेहरुका पुष्टिलाई मतदाताले सहन गरेनन्। काठमाडौं त शिक्षित जनसमुदायको थलो हो। यसबीचमा तपाईँजस्ता ३१ बर्षे जोश-जाँगर,ज्ञान र दृढताले पाउला लगाएका युवकको सकारात्मक, सिर्जनात्मक र सदाचारी पहिचानले काठमाडौंवासीलाई तपाईको लौरोमा भोट हाल्न अरायो र कुत्कुत्यायो। अहिले तपाईँको जीतमा काठमाडौंवासी हर्षित छन्, तर भोलिका दिनलाई पर्ख र हेरको मनस्थितिमा पनि छन्। तपाईँ एउटा टेष्ट परीक्षाबाट उत्तीर्ण भए पनि भोलिका दिनमा अनगिन्ती परीक्षाहरुमा तपाईँले बस्नु पर्ने छ। तपाईँले भोक र निद्रा नभनी ती परीक्षाहरु पास गर्नुपर्ने छ।

काठमाडौंका मतदाता त न्यायाधीश हुन्, अनुभवी र खारिएका न्यायाधीश। बकपत्र,बहस र साक्षीहरु बुझेर, सुनेर र पढेरै मत हाल्ने तिनले अहिले काठमाडौंवासीले तपाईँको पक्षमा लिएको फैसलाको कार्यान्वयनको अनुगमन गर्न पनि यी मतदाता सक्षम छन्।

आदरणीय बालेन भाइ, यसमा नचुक्नु होला। तपाईँलाई अवश्य ख्याल छ यी कुराहरुको र नचुक्नु होस् है भन्ने स्नेहपूर्ण ख्याल गराएको मात्र हुँ।

तपाईँले पाएको मतबारे नानाथरीका चर्चा र टिप्पणीहरु पनि आएका छन्। कसैले ठूला पार्टीप्रतिको अविश्वास र आक्रोश भने, कसैले प्रवृत्तिको विरोध भने, कसैले युवा शक्तिको जागरण र संगठित हुँदै गएको रुप भने र कसैले राइट टु नो भोटको प्रतिविम्ब पनि भने। धेरैथोक भने, आ-आफ्ना अर्थ लगाए। खैर जे होस्- नेपालीहरुले परिवर्तन चाहेको छन्, विकास, सिर्जनशीलता, सदाचारी प्रकृति, धर्म-संस्कृतिको जगेर्ना, राष्ट्रिय पहिचान र गौरवको सम्बर्द्धन र इमान्दारी चाहेका छन्। यथास्थितिमा सन्तुष्टि छैन। तपाईँको भोट तिनै आकांक्षा र अपेक्षाको प्रतिविम्ब, संग्रह र विश्वासको रुपमा देखा परेको छ। युवाहरुमाथिको भरोसा, आशा र पत्याएको शैली हो यो मत।

तपाईँ नेपालको ठूलो महानगर र राजधानी शहरको मेयर हुनुभएको छ। गर्ने काम अथाह छन्, सबैतिर भद्रगोल र अव्यवस्थित छ। काठमाडौं शहर एउटा उत्कृष्ट कलाकौशल, सम्पदा र संस्कृतियुक्त, धर्म र राष्ट्रिय गौरवको पहिचान बोकेको पुरातात्विक महत्वको शहर पनि हो। यहाँ धेरै कुरा छिन्नभिन्न पारिएको छ। त्यसलाई एकीकृत गर्ने, सम्बर्धन र प्रवर्धन गर्ने तपाईँको जिम्मा छ अब। हुन त विगतमा धेरै नगरप्रमुख भए। ती जनप्रतिनिधि नभएर जागिरे भए। कोही मालिक भए। तपाईँ एउटा बेग्लै तहल्का र आशा बोकेर आउनु भएको छ। तपाईँको भर्खरको युवा उमेर छ र जीवनमा धेरै काम गर्न सक्नु हुन्छ। जाँगर, ज्ञान, होश र जोश राख्नुहोस्। सबैलाई थाहा छ- तपाईँले राष्ट्रिय झण्डा बोकेर र ओढेर स्वतन्त्र रुपमा जित्नु भएको छ। तपाईँ कार्यकारी प्रमुख भएर पनि एक्लो देखिनु हुन्छ किनकि अरु सबै पार्टीका छन्। तिनका नेताको आदेश र पार्टीको लाइन फरकफरक होला । प्राथमिकता, कार्यशैली र योजना नमिल्न सक्छ। तर तपाईँमा देखिएको जाँगर-जोश र मेजर-मिशन स्पष्ट हुँदै जाँदा असहयोग गर्नेहरु पनि तर लाग्नेछन्, सतहमा देखिने छन् र जनताले तपाईँलाई महाशक्ति प्रदान गर्नेछन्। सिंह र हात्तिको चाल र प्रवृत्तिलाई स्याल, ब्वाँसो र फ्याउराले विचलित बनाउन सक्तैनन्। तपाईँ उदाहरण बन्न सक्नुपर्छ।

तपाईँजस्तै स्वतन्त्रबाट जित्ने धरानका साम्पाङ,धनगढीका हमाल र अन्य धेरै छन्। तपाईँहरु जस्ताको राजनीतिक इन्ट्री देश र समाजका लागि उपयुक्त औषधी र साख बनोस्। देश स्वार्थ, बेइमानी,भागबण्डा, सेटिङ् र भ्रष्ट आचरणले लथालिङ्ग छ। तपाईँहरुको आवाज र कार्यशैलीले विकृत अवस्थालाई सच्याउन चेष्टा गर्नेछ भन्ने आशा सबैको छ।

मैले देखेको र सुनेको छु कि पार्टीका नेता भनेर मरिहत्ते गर्ने कार्यकर्ताहरुमा अहिले चरम निराशा छाएको छ। भोलि आउने संघीय र प्रान्तीय चुनावमा धेरै बालेन, साम्पाङ र हमालहरुले विकृति विरुद्ध आवाज उठाउँदै युवालाई उत्साहित बनाउने छन्। युवाहरुको हौसला र आँट बढाउन यसपालिको तपाईँको उम्मेदवारी र जीत कोशे ढुंगा सावित होस्। तपाईँको कार्यशैली उपयुक्त कार्यप्रक्रिया, प्रविधि र परिवेशहरु बुझ्न सामर्थ्य होस्। युवा सक्षम भएर पनि नेतृत्व र संगठित आवाज भएन भने बर्षाबिनाको बादलझैँ हुन्छ।

म जस्तोले दिने भनेको बधाई, हार्दिकता र शुभकामना हो। ती चिजहरु दिन मिल्ने सबै तपाईँ र तपाईँजस्ता अन्य युवाहरुको भागमा हालेको छु। जीतको बधाई र भविष्यको गतिमा पुन: शुभकामना।

शुभेच्छुक,

देवेन्द्र सिटौला।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्