कांग्रेसबाट बागी भएर मेयर जितेका मनोज पुनः कांग्रेसमै

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका मनोज साह नेपाली कांग्रेसको विजय जुलुसमा सहभागी भएका छन्।

सत्तागठबन्धनको बैठकले जनकपुरधामको मेयर जनता समाजवादी पार्टीलाई दिएपछि कांग्रेसका उपमहानगरपालिकाका नगरसभापतिसमेत रहेका मनोजले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

तर, निर्वाचित भएपछि कांग्रेसले मतदातालाई आभार तथा धन्यवाद दिन निकालेको विजय जुलुसमा उनी पनि सहभागी भएका हुन्।

विजय जुलुसमा मेयरमा निर्वाचित भएका मनोज साह, उपमेयर किशोरी साह, मधेस सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारसहित सयौँ कार्यकर्ता सहभागी  थिए।

मेयर साह कांग्रेसको विजय जुलुसमा सहभागी भएपछि उनको आलोचना हुन थालेको हो।

यस सम्बन्धमा मेयर साहले आफूले कांग्रेस परित्याग गरिसकेकाले यस्तो कुप्रचारको कुनै तुक र अर्थ नरहेको प्रतिक्रिया दिए। उनले आफू नगरप्रमुखको हैसियतले जुलुसमा सहभागी भएको र कांग्रेसमा प्रवेश नगरेको बताए।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्