संसदमा मूल्यबृद्धिको ‘गरमागरम’ बहस

संसदमा विरोध जनाउँदै विपक्षी एमालेका सांसदहरु। तस्विर : रासस

काठमाडौँ – पेट्रोलियम पदार्थको लगातार भएको मूल्यवृद्धिले जनजीवन आक्रान्त छ। हरेक हप्ता जस्तो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीले सर्वसाधारणमा अत्यास थपिँदो छ। अहिले एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ।

पेट्रोलियम पदार्थमा भएको यही मूल्यवृद्धि राजनीति गर्नेका लागि भने ठूलो मुद्दा बनेको छ। बिहीबार सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यही विषय निकालेर सरकारमाथि प्रहार गरे।

उनले नीति तथा कार्यक्रममा बोझिला र घाटामा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने भनेर उल्लेख भएको कुरालाई निगमसँग जोडेर लामो व्याख्या गरेका थिए।

ओलीले सरकारले महंगी नियन्त्रणका लागि प्रयास नगरेको दाबी गर्दै आयल निगमलाई कमिसनको खेलमा लागेर निजीकरण गर्न लागिएको दाबी प्रस्तुत गरे। निजीकरण गर्दा यसका सवल र दुर्बल पक्षमाथि गम्भीर छलफल हुुनुपर्ने ओलीको जिकिर थियो।

आफू प्रधानमन्त्री भएकै बेला गोप्य रुपमा यसका लागि कार्यदल नै बनाएर काम गरेको थाहा पाएपछि रोकिदिएको संसदलाई जानकारी गराउँदै ओलीले त्यही कामका लागि अहिले अर्बौँ भ्रष्टाचार भइरहेको दाबी गरे।

‘आयल निगमलाई निजीकरण गर्न मोटो रकमको चलखेल सुरु भइसकेको छ। अर्बौँको कारोबार भइसकको छ, अर्बौँको कारोबार हुनेवाला छ,’ ओलीले संसदमा भने। ‘निजी क्षेत्रले दुई दिन मात्रै हड्ताल गरिदियो भने के हुन्छ?’ ओलीले अगाडि प्रश्न गरे, ‘आयल निगम आधारभूत आवश्यकता हो कि होइन? निगमलाई निजी क्षेत्रलाई दिने कुरा यसका सबै पक्षलाई हेरेर मात्रै निर्णय गरिनुपर्छ।’

ओलीको उक्त अभिव्यक्तिको शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रासद बडूले खण्डन गरे। प्रतितिनिधिसभा बैठकको सुरुमै समय माग गर्दै उनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुपर्नाको कारण र निगमको आर्थिक स्थितिबारे जानकारी गराए।

त्यसपछि उनले बिहीबार ओलीले दिएको अभिव्यक्तिप्रति आक्रोश पोखे।

‘आयल निगमलाई निजिकरण गर्न आधा कमिसन खाइसक्यो आधा बाँकी छ भन्ने जस्तो झुठो आधारहीन कुरा केही छैन, ‘ मन्त्री बडूले अगाडि थपे, ‘प्रमुख प्रतिपक्षी दलको नेता जस्तो व्यक्तिले आधारहिन, स्तरहिन आरोप लगाउनुभएको छ। हामी त्यसको विरोध गर्छौ। यो पूर्वाग्रही छ।’

बडूले ओलीमाथि कटाक्ष गर्दै विपक्षी दलका नेताले झुठो कुरा संसदमा बोलेर आफ्नै पदको गरिमा गुमाएको दाबी गरे। उनले भने, ‘उहाँको पदको गरिमा बाँच्यो कि सकियो? उहाँले आधारहीन ढंगले बोल्न मिल्छ? उहाँले कुन आधारमा आधा खायो आधा बाँकी छ भन्ने कुरा कुन आधारमा भन्नुभएको हो?’

बडूले ओलीलाई सरकारमा हुँदा कमिसन खाएको र अहिले नपाउँदा विरोध गरेको जस्तो गम्भीर आपेक्ष लगाए। उनले ओलीलाई जवाफी आरोप लगाउँदै भने, ‘आफू प्रधानमन्त्री हुँदा कमिशन नै कमिशनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिशन बाहेक के नै देख्न सक्छ र सोच्न सक्छ?’

आफ्ना नेताको अभिव्यक्तिको विरोधमा मन्त्रीले जवाफ दिएपछि विपक्षी एमालेका सांसदले होहल्ला गर्दै विरोध जनाए। एकाएक संसद तात्यो। मन्त्रीले सीमा बाहिर गएर बोलेको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सांसद खगराज अधिकारीले मन्त्रीको अभिव्यक्ति फिर्ता हुनुपर्ने भन्दै नियमापत्ति जनाए।

सभामुख अग्नि सापकोटाले विपक्षी र मन्त्रीलाई थामथुम पार्न खोजे पनि सकेनन् र १५ मिनेटका लागि बैठक स्थगित गरे। मन्त्रीको अभिव्यक्ति फिर्ता लिने विषयमा विवाद हुँदा १५ मिनेटका लागि रोकिएको बैठक साढे दुई घण्टा पछि मात्रै सुरु भयो।

ओलीको अभिव्यक्ति यथावत रहे पनि जवाफ दिएका मन्त्री बडूको भनाइ भने सभामुख अग्नि सापकोटाको संसदको रेकर्डबाट हटाउन रुलिङ गरे।

मन्त्री बडूको अभिव्यक्तिले सत्तामा भएपछि कमिसन आउने रहेछ भन्ने आरोपमा सत्यताको नजिक छ कि भन्ने संकेत दिएको छ। जनजीविकाका विषयमा संसदमा हुन छाडेको बहस शुक्रबार आरोप प्रत्यारोपको शैलीमा हुन पुग्यो।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्