कार्यपालिका सदस्यमा ५ महिला र ३ दलित अल्पसंख्यकका लागि १६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

मोरङ – विराटनगर महानगरपालिकाको ८ जना कार्यपालिका सदस्यका लागि कांग्रेस जसपा र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २१ गते हुने कार्यपालिका सदस्यमा ५ जना महिला र ३ जना दलित अल्पसंख्यकका लागि १६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो। जसमा एमालेले ६ जना र कांग्रेस जसपाबाट ८ जना र २ जना स्वतन्त्र उम्मेदवार छन्।

कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार एमालेले ५ जना महिला र १ जना दलित अल्पसंख्यकमा उम्मेदवार दिएको छ।

कांग्रेसले ४ जना महिला, १ जना दलित अल्पसंख्यक, जसपाले १ महिला र २ अल्पसंख्यकमा उम्मेदवारी दिएको उनले जानकारी दिए।

बुढाथोकीका अनुसार विराटनगर–१३ बाट सञ्जीवकुमार साह र विराटनगर १८ बाट ओमप्रकाश साहले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हुन्।

सञ्जीवले लौरो र ओमप्रकाशले लालटिन निर्वाचन चिह्न पाएका छन्। उम्मेदवारी मनोनयनपछि शुक्रबार उनीहरूलाई चिह्न प्रदान गरिएको हो।
महानगरको वडा नम्बर ५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले बहुमत पु¥याउनका लागि कांग्रेस र जसपाले आपसी तालमेल गर्नुपरेको बताए।

कांग्रेसतर्फबाट विजयी वडाध्यक्ष न्यौपानेले तालमेलका क्रममा कांग्रेसले महिला सदस्य बढी लिने र अल्पसंख्यक दलितमा जसपाले बढी सदस्यमा तालमेल गरेको बताए।

५ जना महिलाका लागि हुने निर्वाचनका लागि महानगरभित्र स्थानीय तह निर्वाचनबाट निर्वाचितहरूले मात्र उम्मेदवारी दिन पाउने सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। त्यसैगरी, अल्पसंख्यक दलिततर्फ ९७ जनाले प्रस्तावक र साक्षी रहेर बाहिरबाट उम्मेदवार बनाउन सकिने उनको भनाइ छ।

महानगरमा एमालेले ४३, कांग्रेसले ४०, स्वतन्त्रले ३ र एक जना स्वतन्त्रले निर्वाचनमा जित हासिल गरेको छ।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्