हर्क साम्पाङको प्रश्नः धरान के कंगाल ठाँउ हो त?

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चतरास्थित कोशी नदीबाट पानी भित्र्याएर धरानबासीको प्यास मेटाउनेमा आफू दृढ रहेको बताएका छन्।

देश सञ्चारसँग संक्षिप्त कुराकानी गर्दै नवनिर्वाचित मेयर साम्पाङले कोशीबाट पानी ल्याउन चुनौतीपूर्ण भए पनि असम्भव नभएको बताए। उनले भने, ‘चुनौतीसँग खेल्न त मजा आउँछ। चुनौती छैन त सफलता छ र, छैन नि! समस्या त बेस्सरी होस्। चारैतिर होस्। समस्या आउँछ, समाधान गर्ने अनि बस्ने।’

चतारास्थित कोशी नदीको पानी ल्याएर खुवाउने काम यसै कार्यकालमा सम्पन्न हुने दाबी गरेका मेयर साम्पाङले भने, ‘खानेपानीको गीत गाएर, नारा लगाएर चुनाव जित्ने धेरै भए। यो एजेन्डा लिने अब म नै अन्तिम मेयर हो। यसपछि खानेपानीको एजेण्डा रहने छैन।’

विगतमा खानेपानीको मुहानमा जडान गरिएको पाइप भत्काएको विषयमा उनले भने, ‘अरुले लगाएको त्यो आरोप हो। त्यो आरोप हो, झुटा मुद्दा लगाए। मुद्दा पनि हारे। त्यसको प्रमाणित गर्न कसैले सक्यो? आरोप त जे लाउँदा नि हुन्छ।’

उपमहानगरको १ सय २ सदस्यीय परिषद् र ३० सदस्यीय कार्यपालिकामा एक्लै काम गर्न सकिएला? भन्ने जिज्ञासमा मेयर साम्पाङले भने, ‘उहाँहरुको मनसायलाई सम्मान गर्नेछु। यहाँ मै मात्र सर्वज्ञ हो, मैलेमात्र जानेको छु , मै हो यूनिभर्स त भन्दिनँ। म सानो मान्छे हो। उहाँको सकारात्मक भिजनलाई सम्मान गर्दै अघि बढ्छु।’

नगरको विकास निर्माणमा समेत स्थानीयको सहभागिता रहँदै आएको बताएका उनले भने, ‘यहाँ स्थानीय लगानी गर्न सक्षम छन्। धरान भनेको गरिब ठाउँ होइन त। २ बजेसम्म मान्छे बगरकोटमा वियर र मासु खाएर बस्छन्। ३ बजेसम्म मान्छे सारंगामा नाचेर बस्छन्। धरान के कंगाल ठाँउ हो त? यहाँको अधिकांश बाटो जनताले जग्गा दिएर बनेको छ। तर, यहाँ नीति निर्णय गर्ने मान्छे सही चाहियो। धरान आफै लगानी गर्छ।’

‘विगतमा आफूले जनताको भावनालाई समाजिक सञ्जालमार्फत पोख्दै एक्लै हिडेको व्यक्ति हो,’ उनले भने, ‘जनताको भावना के थियो बुझ्ने एउटा एक्टरले एक्टिङ गरेजस्तै तरिकाको।’

मेयरमा निर्वाचित भएपछि आलोचनाको पाटोसमेत बढेको स्वीकारेका उनले भने, ‘मलाई गाली गर्ने थुप्रै छन्। म हाँसिराख्ने। अब म लाफिङ बुद्ध हो, किनभने अब म नगरपिता हो नि। रोल त्यसरी चेन्ज भएको छ। हिजो म एङ्ग्री योङ म्यान थिएँ, अब म लाफिङ बुद्ध हो।’

२०७४ सालको स्थानीय त निर्वाचनमा मतदाताका रुपमा रहेका राईले पहिलो पटक २०७६ मा सम्पन्न उपनिर्वाचनमा उम्मेदवारी दिएका थिए। जुन समय पानीको बोतल चिन्हमा उनले करिब ५ सय मत पाएका थिए। त्यसपछि उनी निरन्तर रुपमा धरानको विकास र बेथितीबारे अभियानमा जोडिँदै आए।

सो क्रममा वैशाख ३० को निर्वाचनमा उनले मेयरमा उम्मेदवारी दिए। जुनबेला उनको अभिमतलाई राजनीतिक दलदेखि नेता कार्यकर्ताले समय महत्व दिएका थिएनन्। यद्यपि, उनले धरानको मेयर पदमा २० हजार बढी मत ल्याएर निर्वाचनमा जित हासिल गरे।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्