सिमकोट र सुर्खेतमा स्थापित सम्पर्क कार्यालय गाउँपालिकाद्वारा बन्द

सिमकोट – सर्केगार्ड गाउँपालिकाले सिमकोट र सर्खेतमा स्थापना गरिएका सम्पर्क कार्यालयलाई गाउँपालिकामा सारेको छ।

जता पनि सम्पर्क कार्यालय स्थापना गर्दा सेवा प्रवाहमा आउने समस्या हल गर्न आर्थिक बोझमा कमी ल्याउन प्रमुख प्रशासकीय नर रावतको एकल निर्णयका आधारमा सम्पर्क कार्यालय गाउँपालिकामा सारिएको हो।

प्रमुख प्रशासकीय अधिकृत रावतले अघिल्ला जनप्रतिनिधि र कर्मचारीले आफ्नो सुविधालाई ध्यान दिएर सिमकोटमा एउटा पूरै घर र सुुर्खेतमा दुुई कोठा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएकोमा ती कार्यालय बन्द गरिएको बताए। बन्द गरिएका कार्यालयबाट कार्यालयका सामान गाउँपालिकाको कार्यालयमा ल्याउने कार्यसमेत भएको छ। सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयबाट एक उडान हेलिकोप्टरबाट सामान ढुवानी गर्नुपरेको थियो।

उनले तत्कालीन कर्मचारी र जनप्रतिनिधि जनतालाई सेवा दिने नाममा आफूलाई सहज हुने कार्य गरेको निष्कर्ष निकाल्दै कार्यालय एकै ठाउँबाट सञ्चालन गर्न दुुवै सम्पर्क कार्यालय बन्द गरेर सारिएको बताए।

सर्केगार्ड गाउँपालिकाले सेवा दिने भन्दै गाउँपालिकालाई आर्थिक व्ययभार पनि थपिएको देखिएकाले ती कार्यालय बन्द गर्नुको विकल्प नभएको जनाएको छ।

सिमकोटको कार्यालयलाई चार वर्ष ११ महिनासम्म मासिक ३० हजार घरबहाल तिरेको र सुर्खेतका दुुई कोठाका लागि प्रतिकोठा मासिक दुुई हजारका दरले भाडा तिर्नुपरेको थियो।

उनले गाउँपालिकामा बैंक पनि स्थापना भइसकेको, इन्टरनेट सेवा प्रभावकारी बनाएकाले अब सबै काम गाउँपालिकाबाट मात्र गर्ने प्रतिबद्धता व्यक्त गरे। संघीयतामा गाउँपालिका सिंहदरबार भन्ने नारालाई सार्थक तुल्याउनुभन्दा साविक गाविसजस्तै सदरमुकाम सिमकोट केन्द्रित हुने कार्य उपयुक्त नदेखिएकाले ती कार्यालय बन्द गर्नुपरेको उनले बताए।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्