चक्कु रोपिएर मदरसा फैजानेमा एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

सांकेतिक तस्बिर।

नेपालगञ्ज – फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो।

गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा ९मुटुमै० रोपिन गई गम्भीर घाइते भएका थिए। खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिलानै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन। मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन।

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ। प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजेनै मृत्यु भएको रहेछ। प्रहरीलाई १४ जेठा बिहान मात्र जानकारी भयो।’

उनले घटनामा सम्लग्न आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएको र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए। उनले भने, ‘मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ। पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइनेछ।’

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्