कारागारमा हरिजनको मृत्यु प्रकरणः गृहद्वारा छानबिन समिति गठन

काठमाडौँ – गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन गरेको छ। हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ। समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्‍धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्