राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने

कमल थापा

काठमाडौं- राप्रपा नेपालले देशका सातवटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ।

केही दिनअघि काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा, वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

यसका साथसाथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए।

पहिलो चरणमा यही जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौँडामा, २१ र २२ गते १ नम्बर प्रदेशको विराटनगरमा, २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए। उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँडै नै तय गरिनेछ।

जेठ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्