काठमाडौँ – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ। २२ मध्ये १० जनाको शव सोमबार नै ल्याइएको थियो भने १२ जनाको शव मंगलबार काठमाडौँ ल्याइएको हो।

काठमाडौँ ल्याइएका शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने छ।

अहिले त्रिवि शिक्षण अस्पताल परिसर शोकाकुल छ। मृतकका आफन्तहरु अस्पताल पुगेका छन्। उनीहरु भावविह्वल अवस्था छन्।

मृतकका शव आजै आफन्तलाई बुझाइने भनिएको थियो। तर पोष्टमार्टम भइरहेको हुँदा अब भोलि मात्र शव आफन्तलाई बुझाइने अस्पतालले जनाएको छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खराब मौसमका कारण दुर्घटना भएको थियो। विमानमा सवार तीन चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो।