१९७४ एडीको ‍राजपरिवारप्रति समर्पित त्यो चर्चित गीत ‘सम्बोधन’ ( भिडियो )

नेपालको इतिहासमा कहिल्यै नमेटिने कालो दिनकाे रूपमा चिनिएकाे राजदरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भयो। घटना २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएकाे थियाे।

घटनापछि सम्पूर्ण नेपाली मर्माहत भए। आफ्नो अभिभावक गुमाएको पीडाले उनीहरूलाई आक्रान्त पार्‍याे। राजपरिवारको अन्तिम संस्कारमा देशभरबाट नेपाली उपस्थित भए। श्रद्धाञ्जलीसँगै श्रद्धाका शब्दहरू चढाए।

सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका ती सबै धुनहरूले
समर्पण गीत यो गर्दैछु म
तिम्रै ती मिठा रागहरूले
छाडी गयौ हामीलाई जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो

त्यो बेलामा असाध्यै चर्चित ब्याण्ड ‘१९७४ एडी’ले यो गीत दरबार हत्याकाण्डपछि राजपरिवारलाई समर्पण गर्ने निर्णय गर्‍याे। र, त्यसपछि नेपालीहरूको भावनासँग यो गीत गाँसियो। सिर्जनाको २१ वर्षसम्म पनि याे गीत ताजा सुनिन्छ।

गीतका सर्जक एड्रिन प्रधान त्यो बेला ग्यालेक्सी पब्लिक स्कुलमा शिक्षक संगीतका गुरु थिए। १९७४ एडिका फ्रन्टम्यान एड्रिन प्रधानलाई बाल्यकालका आफ्ना संगीत गुरु स्मरणमा आए।

एड्रिन प्रधान

गुरुकाे नाम हाे- चन्द्र मोहन घिसिङ। उनी राम्रा शिक्षक मात्र थिएनन्, असल मानिस पनि थिए।

‘उहाँले सबै विषय पनि पढाइदिनुहुन्थ्यो। विद्यार्थीको मन चाँडै जित्ने, सबै विद्यार्थी उहाँलाई मात्र खोज्थे’, प्रधानले भने, ‘कालिङ्पोङको विद्यालयमा उहाँको अर्कै किसिमको चार्म्स थियो।’

प्रधान अंग्रेजी विद्यालयको विद्यार्थी हुन्। उनलाई संगीतको सुरुवाती अलंकार घिसिङले नै सिकाएका हुन्। त्यसैले प्रधान घिसिङलाई आफ्नो मेन्टर ठान्छन्।

शिक्षक सम्झनामा आएपछि प्रधानले ‘सम्बोधन’ गीतको शब्द लेखे। लेखिएका शब्दलाई छाट्न एड्रिनका विद्यालयदेखिका साथी सीमान्त बरालले सघाए। ब्याण्डका गिटारिस्ट मनोज केसीले ट्युन भरिदिए। त्यसपछि गीत तयार भयो।

मनोजकुमार केसी

ब्याण्डले ‘शताब्दी’ एल्बममा गीतलाई समावेश गर्‍याे र सार्वजनिक गर्ने तयारी गर्‍याे। २०५८ सालमा ब्याण्डले गीत सार्वजनिक गर्नु र दरबार हत्याकाण्ड हुनु संयोगजस्तै भयो। तत्कालीन शासक श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको सपरिवारको दर्दनाक अन्त्यपछि नेपाली मानसिक रूपमा बिथोलिएका थिए। अब अगाडि के हुन्छ भन्ने अन्यौलता त छँदै  थियो।

यही बेला १९७४ एडीले ‘सम्बोधन’ गीत राजा वीरेन्द्रको सपरिवारलाई समर्पण गर्‍याे। घटना भएकाे २१ वर्ष भइसक्दा पनि यो गीत जीवन्त छ।

तर, ब्याण्डका सदस्यहरूले गीतले यति धेरैको मनमा ठाउँ बनाउँछ भन्ने अड्कलसम्म गरेका थिएनन।

‘घटनाको ताजा समयमा विदेशमा जब हामी प्रस्तुति दिन्थ्यौँ तब नेपालीहरू रोएको आफैँले देखेका छौँ। यो गीत अझै मार्मिक, भावनात्मक छ’, एड्रिन भन्छन्, ‘हामीलाई पनि यो निर्णय फाइदाजनक भयो। अहिलेसम्म पनि मानिसलाई छुन्छ।’

यो गीतको गिटार लाइन र कर्ड प्रोसेस मनोजकुमार केसीले गरेका हुन्।

यस सम्बन्धमा उनी भन्छन्, ‘सुरुमा त गीत बन्छ भनेर पनि थाहा थिएन। पियानोमा कर्डहरू बनाउँदा केही प्रोगेस आयो, गीत बन्ने प्रक्रिया सामान्य नै हो। जेठ १९ गते जे भयो त्यो राम्रो भएकै होइन। अझै पनि हामीलाई त्यो कुरा मनमा गडिरहेकै छ। हरेक वर्ष हामीलाई पनि चित्त दुखेर आउँछ। त्योभन्दा बाहेक त संसारको रीत हो, राम्रो नराम्रो सबै तरिकाले घटना घटिरहेकै हुन्छ।’

मनोज सिंह

ब्याण्डका बाँसुरीबाधक मनोज सिंहले पनि त्यो घटनालाई यसरी सम्झन्छन्, ‘घटनाको दुई महिनाअगाडि होटल हायातमा मेरो एउटा म्युजिक भिडियो राजकुमार दीपेन्द्रले सार्वजनिक गर्नुभएको थियाे। म अहिले पनि उहाँसँग हात मिलाएको सम्झन्छु। मलाई त्यो दिन असाध्यै दुख लागेको थियो।’

‘यो गीतले धेरै नेपालीहरूलाई त्यो दुख बिर्सनलाई मद्दत गरेको छ कि जस्तो लाग्छ’,मनोज सिंहले आफ्नो भावना पोख्दै भने।

दरबार हत्या काण्डपछि छानविन समिति गठन भयो। समितिले निकालेको निष्कर्षमाथि अनेकन टीकाटिप्पणी गरियाे। यता बेलाबेलामा दुर्घटनाका साक्षीसँगको समाचारले दरबारहत्याकाण्ड सबैलाई स्मरणमा ल्याइदिन्छ। तर, छाडेर गएकाहरूको सम्झनामात्र बाँकी छ।

सम्झना मुटुमा आइरहन्छ
बिथोल्छ बियोगका पलहरूले
टाढियौ तिमी नभेट्ने गरी
अङ्गाल्छ तिम्रै भावनाले
छाडी गयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो

निराकर याक्थुम्बा लिम्बु
फिराेज स्याङदेन
जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्