अस्तित्वमा रहे-नरहेका राजसंस्था र देशप्रेमको निकास

गत बिहीबार नेपालका तत्कालीन राजा वीरेन्द्र र परिवारको वंशविनाश भएको २१ वर्ष पूरा भएको छ।

ठीक साेही दिन अर्थात् २ जुन २०२२ मा बेलायतकी महारानी एलिजाबेथबाट राज्यारोहण भएको सत्तरियौँ वर्ष पूरा भएको उपलक्ष्यमा विश्वभर भव्यताका साथ चार दिन ‘प्लाटिनम जुविली’ मनाइँदै छ।

मनाइँदै गरेको ‘प्लाटिनम जुविली’को भव्यताले शक्तिशाली सभ्यताको झलक पनि दिइरहेको छ। इङ्ल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड र वेल्स सम्मिलित संयुक्त अधिराज्यको एकताको प्रतीक हो- बेलायतको राजसंस्था।

६ फेब्रुअरी १९५२ का दिन एलिजाबेथलाई महारानी घोषणा गरियो। चौबन्न मुलुक सम्मिलित कमनवेल्थ, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका मुलुकले २ देखि ५ जुनसम्म ‘प्लाटिनम जुविली’ मनाउँदै छन्। यहाँको राजसंस्था सभ्यता पनि हो।

त्यतिखेर बेलायतमा विन्सटन चर्चिल प्रधानमन्त्री थिए र राजसंस्थाको नेतृत्व गरेका थिए- राजा जर्ज छैटौँले। राजा जर्ज छैटौँकी सुपुत्री थिइन्- महारानी एलिजाबेथ द्वितीया। विन्सटन चर्चिल दुई पटक सन् १९४०-४५ र १९५१-५४ सम्म बेलायतको प्रधानमन्त्री भए। यिनकै समयमा बेलायत विश्वयुद्धमा होमिएको थियो।

सन् १९३९ मा सुरु भएको दोस्राे विश्वयुद्ध करिब ६ वर्षपछि सन् १९४५ मा अन्त भएको घोषणा गरियो। युद्धले त्यतिबेला अनिकाल, महंगी र अभावलाई जुरुक्क उचालेको थियो।

युद्धको समयमा बनेका प्रधानमन्त्री विन्सटन चर्चिललाई आगामी लक्ष्य के हो भनेर पत्रकारले सोध्दा औँलाले अंग्रेजीको भी आकार देखाउँदै विजयको संकेत गरेका थिए। अर्थात् एकमात्र उद्देश्य- भिक्ट्री। नाजीहरूका विरुद्ध संगठित देश अमेरिका, बेलायतको समूहले दोस्रो विश्वयुद्ध जित्यो।

युद्धले क्षतविक्षत भएको आर्थिक, सामाजिक र राजनीतिक स्थितिको सुधार गर्ने, अनुकुल राख्ने, सहयोग गर्ने भनेर अमेरिकाले सन् १९४८ मा मार्शल प्लान अगाडि बढायो।दोस्राे विश्वयुद्धले अमेरिकालाई नेतृत्वको भूमिकामा स्थापित गरायाे।

सन् १९५२ को पहिलो साता राजकुमारी एलिजाबेथ र राजकुमार फिलिप केन्यामा कमनवेल्थ भ्रमणको सिलसिलामा थिए। राजा जर्ज छैटौँको स्वास्थ्य प्रतिकूलताका कारण कमनवेल्थ भ्रमणलाई राजकुमारी एलिजाबेथ र राजकुमार फिलिपले निरन्तरता दिएका हुन्।

भ्रमणस्थल केन्याको विकट गाउँमा रहेकै बखत ६ फेब्रुअरी १९५२ का दिन राजकुमारी एलिजाबेथले राजा जर्ज छैटौँको देहावसान र आफू महारानी नियुक्त भएको खबर सुनिन्। तत्कालै राजकुमारीबाट एलिजाबेथ बेलायतकी महारानी एलिजाबेथ द्वितीया बनिन्। भ्रमण स्थगन गरियो र महारानी एलिजाबेथ द्वितीयालाई एयरपोर्टमा प्रधानमन्त्री चर्चिलले स्वागत गरे।

अर्को वर्ष २ जुन १९५३ का दिन बेलायतको राजगद्दीमा महारानी एलिजाबेथ द्वितीयाले वेष्टमिन्सटर आबेमा आयोजित राज्याभिषेक समारोहमा औपचारिक राज्यारोहण गरिन्। आज ४ जुन २०२२ का दिन उनले राजकाज गरेको सत्तरी वर्ष दुई दिन भइसकेकाे छ। उमेरले महारानी एलिजाबेथ नब्बे वर्ष नाघेकी छन्।

बेलायतको राजसंस्थाको इतिहासमा सबैभन्दा धेरै राजकाज गर्ने रानी- एलिजाबेथ द्वितीया हुन्। यही अवसरमा सन् २०२२ मा विश्वभर ‘प्लाटिनम जुविली’ आयोजना गरी मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

दाेस्राे विश्वयुद्धमा मात्र ‘भिक्ट्री’  हासिल गर्नुपर्ने लक्ष्य र राजा जर्ज छैटौँको देहावसान पछिको अवस्थाले थप जटिलता थप्यो। सतहत्तर-अठहत्तर वर्षका वृद्ध प्रधानमन्त्री विन्सटन लियोनार्ड स्पेन्सर चर्चिलको काँधमा झन् ठूलो दायित्व थपियो।

यी दायित्व पूरा गर्न, जग बसाउन सफल भए- बेलायतका तत्कालीन प्रधानमन्त्री चर्चिल। पछि ‘राजनेता’ (स्टेटम्यान) कहलिए। विश्व राजनीतिमा उनका दुई वाणीहरूले अहिले पनि निकै महत्त्व राख्ने गरेका छन्।

प्रधानमन्त्री चर्चिलले भनेका एउटा वाक्यांशको सार छ- ‘अंग्रेजी बोलिने मुलुकहरूबीचको एकताले विश्वमा परि आउने कस्तै संकट पनि टार्न, जित्न सकिन्छ।’ त्यस्तै अर्को वाक्यांशको सार यस्तो छ- ‘प्रजातन्त्र पनि खराब व्यवस्था हो तर योभन्दा राम्रो अर्को व्यवस्था छैन।’

प्रजातन्त्रका अन्तरनिहित कमीकमजोरीलाई समेत एउटै वास्केटमा राखेर व्यवहार गर्न प्रधानमन्त्री चर्चिलले समय बिताएको भए आजको अवस्था कस्तो हुन्थ्यो? भन्न सकिने कुरा भएन। उनले नेतृत्वका पात्र र प्रवृत्तिमा सुधारको जग बसाले।  प्रजातन्त्रका अन्तरनिहित कमीकमजोरीलाई पनि छिद्रान्वेषण गर्दै सतर्कतापूर्वक, होसियारीका साथ अगाडि बढनुपर्ने सन्देश छाडे। त्यसैले आज ‘वेष्ट मिन्स टेरियल सिस्टम’ प्रजातान्त्रिक शासन पद्धतिको चूरो बन्न सकेको छ।

दोस्रो विश्वयुद्धताकाको त्यो समय र अहिलेको समयमा कताकता मेल देखिएको संयोग छ। रुस-युक्रेनको युद्ध जारी छ। अमेरिकाकाे नेतृत्वको पश्चिमा समूहले रुसको विरुद्धमा विभिन्न खालका प्रतिबन्धात्मक उपाय लागू गर्दै लगेको र त्यसको प्रतिकारमा रुसले आफ्नै मुद्रा रुवलमा आफ्ना उत्पादन खरिद गर्नुपर्नेजस्ता सर्तहरू अघि बढाएको छ।

विश्व बजारमा इन्धन, खाद्यवस्तु निर्यात गर्ने देशहरूमध्ये रुसले महत्त्वपूर्ण हिस्सा लिँदै आएको तथ्यांकले देखाउँछ। भारत, चीन लगायत ऊर्जावान केही औद्योगिक मुलुकहरू कतैतिर पनि संलग्न देखिएका छैनन्। परिणामस्वरूप यतिखेर इन्धन, खाद्यवस्तु लगायतको अभाव र मूल्यवृद्धि थाम्नै नसक्ने गरी आकासिएको छ।

विश्वभरका मानिसले युद्धका लागि मूल्य चुकाएको अवस्था छ। कोरोनाको कहरलगतै  मानवजातिका लागि अभाव ठूलो संकटका रूपमा देखापरेको छ। समाधान वार्ता नै हो भनिए पनि सहज देखिएको छैन। युद्ध र प्रतिबन्धको रणनीतिले मडारिएको कालो बादलबाट तेस्रो विश्वयुद्ध नै खस्ने हो कि भन्ने तीव्र आशंका छ। विश्व शक्ति नयाँ तरिकाले ध्रुवीकृत हुँदै गएको देखिन्छ।

ध्रुवीकृत विश्व व्यवस्थाको कारणले गर्दा नेपालमा पनि इन्धन, खाद्यवस्तुको महंगी र चरम अभाव देखिन थालेको छ। खाद्यवस्तुको चरम अभाव र महंगीले भड्काएको आन्दोलन थाम्न नसकेर फ्रान्सका राजा लुइ चौधौँको अन्त भएको प्रसंग पनि यहाँ उल्लेख छ। कुनै पनि समय आन्दोलन भड्किन सक्ने तरल अवस्था छ यतिखेर।

जसले आफ्ना दैनिन्दनीय समस्याका आवश्यकता पूरा गर्न सघाउँछ, त्यसैको समर्थन गर्नुपर्ने अवस्थामा छन्- नेपालजस्ता आयातमा निर्भर विकासाेन्मुख मुलुकहरू।

नेपालले वि.सं. २०४६ देखि वेष्ट मिन्स टेरियल सिस्टम’मा आधारित प्रजातान्त्रिक शासन पद्धति अँगाल्दै आयो। २०६३ पछि राजतन्त्रको अन्त्य गरेर गणतन्त्रात्मक शासन पद्धति अँगालेको हो। तैपनि जनजीविकाको अपेक्षित सुधार नभएको गुनासा छन्।

नेपालको विद्यमान तरल अवस्था, प्रधानमन्त्री चर्चिलले बुझेको ‘प्रजातन्त्र’र सफलताका लागि गर्नुपर्ने साधना बीचका तादात्म्यतालाई नियाल्न सकिन्छ। यसरी अध्ययन गर्दा नेतृत्वमा रहने दलीय पक्षको अंशले एकताको भावना बलियो बनाउने कार्य चाहँदाचाहँदै पनि चुनौतिपूर्ण देखियो। विवादरहित एकता आवश्यकता बन्दै गएको छ।

यसका लागि सबैको उपादेयता र अस्तित्वलाई स्वीकार गर्न सकिने नयाँ संस्कार (नयाँ व्यवस्था) बसाल्नु पर्ने हुन्छ। सह-अस्तित्व रक्षाबाट मात्रै शान्ति र मानव अस्तित्व सुरक्षित रहन सक्छ। पक्ष विपक्षको स्वार्थभन्दा माथि उठेर जति स्वतन्त्र हुन सकिन्छ, त्यति नै एकताको भावना बलियो हुन्छ। राष्ट्रिय एकताको भावनाले अन्तराष्ट्रिय मेलमिलापलाई बलियो बनाउन सघाउँछ। प्रजातन्त्र भित्रै बहिस्कारको गलत राजनीतिक सूची प्रवेश गराउँदा असुरक्षा बढेको छ, बढ्ने छ।

बेलायतकाे राजतन्त्रलाई अँगाल्दा पनि भव्य र सभ्य देखिएको छ। अनि फ्रान्स राजतन्त्र नअँगालिकन पनि त्यस्तै सभ्य र भव्य छ। नेपाल विभिन्न कारणले बेलायतजस्तो छैन र फ्रन्सजस्तो पनि होइन।

यसका मौलिक पक्ष छन् जसले नेपाल र नेपाली भनेर विश्व मानचित्रमा परिचित, सम्मानित र गौरवान्वित गराएका छन्। जब देशका पहिचानहरू हराउँछन, व्यक्ति र समाजको अस्तित्व पनि संकट ग्रस्त हुन्छ। ‘राजनेता’ ले बुझ्नु पर्ने कुरा यही हो।

दोस्रो विश्वयुद्धको घाउ निको नहुँदै भएको राजा जर्ज छैटौँको देहावसानले बेलायतलाई असह्य वेदना थपेको थियो। केन्या भ्रमणमा रहेकी बेलायती राजकुमारीलाई महारानीका रूपमा स्वागत गर्ने प्रधानमन्त्री चर्चिल र फ्रान्समा खाद्यवस्तुको चरम अभाव र बढेको महंगीले भडकाएको आन्दोलनलाई मत्थर पार्न गरिएको राजतन्त्र विनाशको निर्णयले सम्बन्धित मुलुकलाई यहाँसम्म ल्यायो। बुझ्न सकिन्छ कि- त्यहाँको नेतृत्वले देश र जनताको शिर निहुरिन दिएन।

झण्डै २५० वर्ष नेतृत्वमा रहेको राजसंस्था गणतान्त्रिक नेपालमा अटाएन। राजा वीरेन्द्र र वंश विनाश भएको घटना पनि रहस्यकै गर्भमा ‘सुनियोजित’छ। बिपी कोइरालाजस्ताको बहुआयामिक नेतृवबाट पनि मुलुक विमुख छ। घेरिएका समस्याले निकास पनि लिएर आएको हुन्छ। त्यस्तो निकास भेट्टाउन सक्ने समय र नेतृत्व नै भेटाउन नसकेको समस्यामा छ नेपाल। यही मनोकांक्षाले नेपालका भावी दिनहरू तातो रहने देखिन्छ।

 

 

 

जेठ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्