विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत

मोरङ – विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत भएको छ।

शनिबार ८ सदस्यका लागि भएको निर्वाचनमा एमाले सदस्य विजयी हुँदै बहुमत पुगेको हो। स्थानीय तह निर्वाचनमा दलीय गठबन्धन भए पनि कार्यपालिकामा त्यसको सकारात्मक प्रभाव हुन सकेन। कार्यपालिका निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको हो।

कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत कांग्रेस–जसपा गठबन्धनको थियो। त्यसैगरी, एमाले र स्वतन्त्रबाट ४६ मत थियो।
मुख्य निर्वाचन अधिकृत कार्यालयको सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सञ्जीव साह ५२ मत ल्याएर विजयी भए।

त्यसैगरी, अल्पसंख्यकमा कांग्रेसका प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मतमा सीमित भए।

अर्कोतर्फ, महिलामा एमालेकि सन्तलीदेवी विश्वास र कमला श्रेष्ठ समान ५५, ताराकुमारी राय र सरिता घिमिरे नेपाल समान ५३ र खुश्बु विश्वकर्मा ५२ मतसहित विजयी भए। काँग्रेसका उम्मेदवार अञ्जु दाहाल गौतम ४०, गायत्री थापा ३९, रुपा देउजा ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत पाएका थिए।

जितसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ। मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र हाल निर्वाचित ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहित १६ जना भएका छन्। कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्यक्षसहित ३, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा पुगेका छन्।

जेठ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्