काठमाडौँ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्पराअनुसार शनिबार भोटो देखाइएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्र प्रमुखलाई भोटो देखाउने प्रचलन रहिआएको छ।

लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राष्ट्राध्यक्ष भोटो जात्राको प्रमुख अतिथि बन्ने परम्परा छ।

भोटो देखाइसकेपछि मछिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ।

वर्षा र सहकालका देवताका रूपमा मानिने मछिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान हुन्। मछिन्द्रनाथको रथ स्थानीय बाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ।