कांग्रेससँग मिलेर चुनाव लडेको समाजवादीले कार्यपालिकामा एमालेसँग गठबन्धन गर्यो

इलाम – इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका चुनावमा एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गरेको छ।

वैशाख ३० गते भएको चुनावमा कांग्रेससँग मिलेर प्रमुख पद जितेको समाजवादीले कार्यपालिकाको बैठकमा एमालेसँग मिलेको हो। कांग्रेस र समाजवादीको गठबन्धनबाट प्रमुखमा समाजवादीका रणबहादुर राई र उपप्रमुखमा कांग्रेसका दुर्गाकुमार बराल निर्वाचित भएका थिए।

समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री भलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने यो नगरपालिकामा एमाले र एसले कार्यपालिकामा ४/४ जना सदस्य भागबन्डा गरेका हुन्।

सदस्य महिलामा केशरकुमारी पौडेल, चन्द्रकला परियार, सावित्रा शिवा र लतादेवी गौतम अधिकारी र लामु शेर्पा ३८/३८ मत ल्याएर विजयी भए भने दलित तथा अल्पसंख्यक सदस्यमा चित्रकला बराइली र ख्यामबहादुर भुजेल ३८/३८ मत पाए। सोनामछिरिङ लामा ३९ मत पाउँदा कांग्रेसका सबै उम्मेदवार पराजित भए।

कांग्रेस र समाजवादीले गठबन्धन गरेको सूर्योदयमा नगरपालिकाको १४ मध्ये ७ वटा कांग्रेसले, ५ समाजवादी र दुईवटा वडाको अध्यक्ष एमालेले जितेको छ। कार्यपालिकाको ७२ मतदाता मध्ये कांग्रेसका ३४, समाजवादीका २० र एमालेका १८ जना थिए।

जेठ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्