भोट हाल्न १० घण्टा हिड्नुु पर्ने मानपुर वासीले गरे नयाँ मतदान केन्द्रको माग

सिमकोट – ताँजाकोट गाउँपालिका–३ को मासपुुर गाउँका बासिन्दाले आगामी प्रदेश तथा संङ्घीय निर्वाचनका लागि नयाँ मतदान केन्द्र माग गरेका छन् । मासपुुर गाउँका बासिन्दालाई १० घण्टा हिँडेर मतदान गर्न जानु पर्ने अवस्थामा आगामी चुनावको लागि नयाँ मतदान केन्द्रको माग गरिएको हो।

मुख्यनिर्वाचन अधिकृतको जिम्मेवारी पाएका जगतबहादुुर पौडलले आगामी निर्वाचनका लागि मासपुुरका लागि नयाँ मतदान केन्द्र जिल्लाबाट माग गरिएको बताए । सर्वपक्षीय बैठकले उक्त गाउँका मतदाताहरुले मतदान गर्न निक्कै कष्ट भोग्नुु परेको भन्दै नयाँ मतदान केन्द्र मासपुुरका लागि थप गर्न निर्वाचन आयोग समक्ष माग गरेको छ।

मासपुुरका गाउँको लागि छुट्टै मतदान केन्द्र बनाइदिन २०७४ साल र २०७९ सालको स्थानीय तहको निर्वाचनका बेला पनि माग गरिएपनि सम्बोधन भएको थिएन।

यसपटक पनि आयुुक्तसँग मौखिक रुपमा पनि कुरा राखेको र लिखित रुपमै पनि निर्णय गरेर पठाउने आस्वासन पाएको पौडेलले बताए।

आयोगले निर्वाचन कार्यालयलाई नयाँ मतदान केन्द्र कायम गर्नुपर्ने, थपघट गर्नुपर्ने, केन्द्र परिवर्तन गर्नुपर्ने भए त्यसको विवरण जिल्लाबाट पठाउन परिपत्र गरेपछि जिल्लामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि मासपुुरका मतदाताहरुले १३ घण्टासम्म हिँडेर कैलाश आविमा रहेको मतदान केन्द्रमा आएर मतदान गरेका थिए।

२३ घरधुरी रहेको मासपुरमा २०७४ सालको निर्वाचनसम्म प्रतिघरधुरी एक जनाका दरले मात्र मतदान गर्दै आएका थिए । उक्त गाउँमा एक सय भन्दा बढी मतदाता रहेका छन । मतदातालाई बास बस्ने बासस्थानको पनि अफ्ठेरो रहेको छ।

यस्तै बैठकले अदानचुली ४ का लागि हालको मतदान केन्द्र कुकुुरफाल्न मतदान केन्द्र अपायक पर्ने भएको कारण सोही वडाको वडा कार्यालयमा सार्नु पर्ने, उक्त वडाको बिगोटी गाउँका मतदातालाई मतदान गर्न चार घण्टा भन्दा बढी समय पैदल हिड्नुु पर्ने भएको कारण जनप्रिय आविमा नयाँ मतदान केन्द्र स्थापना गर्नु पर्ने, चङ्खेली गाउँपालिका–२ को हालको मतदान केन्द्रलाई सोही वडाको बालज्योती आविमा सार्नु पर्ने, सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र असुरक्षित स्थानमा रहेको कारण कर्णाली मावि चौगानफया र कैलाश मावि डाँडाफयामा सो मतदान केन्द्र निर्धारण गर्नका लागि आयोगको कर्णाली प्रदेश कार्यालयमा लेखि पठाउने निर्णय भएको छ ।

जेठ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्