प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रधानसेनापति शर्माले जंगी अड्डामा बुधबार आयोजित कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

पदोन्नति भएका उपरथी दीपककुमार बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी होमनाथ दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्त भएका छन्।

रथीबृन्द तथा अधिकृतको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका दुई जना महा सेनानीलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्