सिजीले भित्र्यायो विद्युतीय गाडी

काठमाडौँ – सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी बिक्री सुरु गरेको छ। बढ्दो पेटोलिय पदार्थको मुल्यवृद्धिबाट राहत पाउन विद्युतीय साधानमा ध्यान केन्द्रित भइरहेका बेला सिजी मोटर्सले निटा ब्रान्डको विद्युतीय गाडी सार्वजनिक गरेको हो।

चौधरी ग्रपअन्तर्गतको सीजी मोटर्सले पहिलो मोडलको रुपमा निटा भी बजारमा ल्याएको हो।

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजार नेपालमा ल्याएको दाबी गरेको छ। निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ।

सीजी मोटर्सका प्रबन्धनिर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्यतीय सवारीलाई प्रवद्र्धन गर्न लागेको बताए। सार्वजनिक कार्यक्रममा उनले भने, ‘हामीले नेपालमा गाडीको उपलब्धता कम हुँदा मारुती सुजुकी ब्रान्ड भित्र्याएका थियौँ। अहिले विद्युतीय गाडी बजारमा ल्याएका छौँ।’

निटा भी सार्वजनिक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीलाई सरकारले प्रवद्र्धन गर्नै पर्ने बताए। उनले नेपालले अहिले ३०० मेगावाटसम्म विद्युत् भारतमा निर्यात गर्नुपरेकाले विद्युतको खपत नेपालमा बढाउन विद्युतीय गाडीको प्रयोग बढाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, ‘रातको समयमा नेपालको विद्युत खेरा जाने अवस्था छ। विद्युतीय गाडीको प्रयोगले केही मात्रा यहीँ खपत बढाउँछ।’ नेपालमा वार्षिक १५ हजार गाडी बिक्री हुँदा १५ सय मात्रै विद्युतीय गाडी खरिद हुने गरेको छ।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्