बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम- महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका-६ का ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बिहीवार बिहान करिब साढे १० बजे जलेश्वर-६ धबौलीमा स्थानीय ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीले सोमन देवीलाई भूतप्रेत लगाएको भन्दै दुबै महिलाको चुल्ठो समाती, हात, लात्ती र लाठी समेतले कुटपिट गरी घाइते बनाएका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले पीडित कालो देवीका छोरा अमित महतो र दुलरिया देवीको नाती रामजीवन रामले ज्यान मार्ने उद्याेगमा दिएको जाहेरीपछि अनुसन्धानकै क्रममा दुबैजनालाई पक्राउ गरिएको जानकारी दिए।

पीडितका छोरा र नातीले दिएको जाहेरी दरखास्तलाई ‘बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्याेग’ शीर्षकमा मुद्दा दर्ता गरी घटनामा संलग्नमध्येका भुलन राम चमार र सोमन देवीलाई शुक्रबार पक्राउ गरिएको र घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जेठ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्