नेपालमा कोभिडको साप्ताहिक विश्लेषण (जुन ५ देखि ११ सम्म)

दक्षिण एशियामा शान्त छ कोरोना अहिले

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि अझै विश्वको दैनिक संक्रमण संख्यामा धेरै कमी आइसकेको छैन। तर, विश्वको दैनिक कोरोना मृत्युमा भने निकै कमी आइसकेको कुरा गत अंकमा पनि उल्लेख भइसकेको छ।

अर्कोतिर अमेरिकामा हाल पनि कोरोना संक्रमणको संख्या उल्लेखनीय छ र त्यस्तै दैनिक कोरोना मृत्यु पनि। वल्र्डमिटरका अनुसार मार्च अन्त्यतिर दैनिक संक्रमण २७ हजारमा झरिसकेको अमेरिकामा पछिल्लो समय बढ्दै गई जुन पहिलो साता एक लाख नाघेको छ।

मानौँ यो अमेरिकामा कोरोना प्यान्डेमिकको नयाँ लहर हो। त्यस्तै, त्यहाँको दैनिक मृत्यु पनि त्यति धेरै उच्च नभए पनि हालसम्मको न्यूनतम बिन्दुमा पुग्न सकेको छैन।

त्यहाँ दैनिक २००–३७५ कोरोना मृत्यु देखिने गरेको छ। अमेरिकाको सबैभन्दा ठूलो राज्य (जनसंख्याको आधारमा, करिब चार करोड) क्यालिफोर्नियामा हाल पनि दैनिक २० हजार नयाँ संक्रमण र ३५ जनाभन्दा धेरै दैनिक नयाँ कोरोना मृत्यु देखिने गर्छ।

त्यस्तै, विश्वको अति विकसित र कोरोना संक्रमण नियन्त्रणमा अब्बल देखिएको देश ताइवानमा अप्रिल अन्त्यतिर सुरु भएको हालसम्मकै सबैभन्दा ठूलो र एक मात्र प्यान्डेमिक लहर हाल पनि कायम रही पछिल्लो समय त्यहाँ दैनिक ८० हजारभन्दा धेरै नयाँ संक्रमण र २ सयभन्दा धेरै नयाँ मृत्यु देखिने गरेको छ।

त्यस्तै, नेपालको भन्दा थोरै जनसंख्या भएको र कोरोना प्यान्डेमिककालको धेरै लामो समयसम्म कोरोना संख्या नगन्य रहेको देश अस्ट्रेलियामा हाल पनि दैनिक करिब ३० हजारभन्दा धेरै नयाँ संक्रमण र दैनिक ३०–५० जना नयाँ मृत्यु देखा परिरहेका छन्।

उत्तर कोरियामा मे तेस्रो सातादेखि अचानक देखापरेको कोरोना संक्रमण वल्र्डमिटरका अनुसार हाल पनि निकै उच्च रहेको अनुमान गरिएको छ। यद्यपि, डब्लुएचओले यो कुरा आफ्नो दैनिक कोरोना तथ्यांक अद्यावधिकमा उल्लेख गरेको छैन।

त्यस्तै, ब्राजिल, जर्मनी, इटालीलगायत मुलुकमा दैनिक कोरोना संक्रमण र मृत्यु त्यति कम हुन सकेको छैन।

तर, यति भन्दाभन्दै विश्वका धेरै देशमा कोरोना संक्रमण न्यून र कोरोना मृत्यु शून्यप्रायः भइसकेको छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वर्ल्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांक सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ मे २५ देखि जुन ८, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा केही वृद्धि हुँदै गएको देखिन्छ जुन गत हप्ताको अन्त्यतिर २३०० बाट ५३०० नाघेको छ।

दैनिक मृत्युचाहिँ घटेको देखिन्छ जुन २० भन्दा कम भएको छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय भारतमा दैनिक कोरोना संक्रमणमा वृद्धि हुँदै गएको देखिएको छ जुन गत हप्ताको अन्त्यतिर ५००० नाघेको थियो।

त्यस्तै, चित्र न. ३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु शून्य भएको छ भने भारतमा पनि न्यून छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर १.०% भन्दा कम छ भने भारतमा केही वृद्धि भई १.४५% र बंगलादेशमा २.५६% पुगेको छ। तर, अर्कोतिर पछिल्लो समय अमेरिकाको दैनिक संक्रमण दर ३२.७९% पुगेको छ जुन निकै उच्च हो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुन ५ देखि ११ (वि.सं २०७९ जेठ २२ देखि २८)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेठ २८ गते शनिबारसम्म, देशभरि जम्मा ६० जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७९२५१ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ७२ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२ मा स्थिर छ।

गत हप्ता जम्मा १३६२८पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १६८३१ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात ६५.९९% देखियो जुन दुई हप्ताअघि ६८.३७% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कतिजनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ०.३३%देखि अधिकतम०.७५%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर०.४७% रह्यो जुन दुई हप्ताअघि०.४९%थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। यद्यपि, अमेरिकामा भने पछिल्लो समय कोरोना संक्रमण संख्या र संक्रमण दर केही बढेको छ भने युरोप, एसिया तथा अस्ट्रेलियाका केही देशमा हाल पनि कोरोना संक्रमण उच्च छ। पछिल्लो समय भारतमा पनि दैनिक कोरोना संक्रमण संख्या र संक्रमण दर केही बढेको देखिएको छ।

नेपालमा गत हप्ता (जेठ २२ देखि २८गतेसम्म), साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात साबुनपानीले धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्