२१ महिनाको बच्चासहित न्याय माग्दै आमरण अनशनमा कुमारी आमा, यस्ता छन् मागहरू (तस्बिरहरुसहित)

काठमाडौँ- कुमारी आमा निहारिका राजपूत तीन दिनदेखि बसन्तपुरमा आमरण अनसन बसिरहेकी छन्।

आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन अनसन बसेकाे आइतबार तीन दिन भएको छ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्।

तर, चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गरेकी हुन।

अनसनमा उनले पाँच बूँदे माग राखेकी छन् । उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग राखेकी छन् ।

‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो’, उनले मागमा भनेकी छन्, ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो । मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्यो ।’

जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले अनसन नतोड्ने उल्लेख समेत गरेकी छन् । उनले प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गरेकी छन् । आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने बताएकी छन् ।

उनलाई भेट्न आइतबार अनशन बसेकाे ठाउँ बसन्तपुरमा मोडेल गरिमा शर्मा पनि गएकी थिइन्। अहिले स्वास्थमा केही असजिलो भएको छ। उनलाई साथ दिँदै अधिकारकर्मी जस्मिन ओझा पनि अनसनमा छिन्।

यस्ता छन् उनका मागहरु:

१. मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम  फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? 888 عربي यसको निष्पक्ष छानबिन हुनुपर्‍यो । 

. उच्च अदालतमा चार महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेसी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेसी तोकेर फैसला गरिदिनुपर्‍यो ।

३. मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । 

४. घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो । हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्‍यो । उनीहरूमाथि पनि छानबिन हुनुपर्‍यो ।

५. मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो । जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनशन तोड्ने छैन ।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्