‘विराटनगर महानगरका सबै वडामा न्यायोचित बजेट वितरण हुन्छ’

मोरङ – विराटनगर महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बजेटका विषयमा छलफल गर्दै सम्पन्न भएको छ।
महानगरमा आइतबार सम्पन्न बैठकमा बजेट निर्माण, विकासका विषयमा छलफल भएको बताइएको छ।

छलफलमा मेयर नागेश कोइरालाले महानगरका सबै वडालाई न्यायोचित रुपमा बजेट वितरण गरिने जानकारी दिए।

महानगरले असार १० गते बजेट ल्याउने तयारी गरेसँगै छलफल भएको वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले बताए।
कार्यपालिकाले पूर्णता पाएपछि बसेको बैठकले आगामी वर्षका लागि बजेट विनियोजन, कार्यक्रमबारे छलफल भएको बताए।

उनले यसअघि काम सम्पन्न भएका सडकका केही रकम फस्र्याेट गर्ने काम भएको जानकारी दिए।
छलफलका क्रममा प्रस्तावका रुपमा महानगरको १९ वटा वडालाई २५ करोड रुपैयाँ र मेयर उपमेयरलाई ३५ करोड रुपैयाँ राख्नुपर्ने विषय आएको अर्का एक वडाका अध्यक्षले बताए।

उनले भने, ‘अहिले सो प्रस्ताव छलफलकै रुपमा रहेको हुँदा सच्याउनुपर्ने भनेका छाैँ। यसअघि पनि वडालाई हेरिकन पौने दुई, दुई करोड दिइएको छ। त्यहीअनुरूप अघि बढ्नुपर्ने हामीले भनेका छाैँ।’
त्यसैगरी, बैठकमा मेयर उपमेयरले प्रस्ताव गरेको ३५ करोड रुपैयाँमा समेत अन्य सदस्यले कम गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले वडाको बजेट बढाएर मेयर उपमेयरतर्फ कम गर्नुपर्ने सुझाव दिएको बताए। आइतबार नै कार्यपालिकामा निर्वाचित भएका ८ जना सदस्यलाई मेयर कोइरालाले शपथग्रहण गराएका थिए।

यससँगै महानगरको कार्यपालिकामा एमालेतर्फ उपमेयरसहित १८, कांग्रेस मेयरसहित ७, जसपा २, राप्रपा १ र स्वतन्त्रतर्फ ३ जना सदस्य छन्।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्