एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली क्रिकेट टीमको बिदाइ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली। तस्बिरः क्यान।

काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्।

बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताइन्। अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने बताइन्।

उनले भनिन्, ‘हामीले धेरै वर्षदेखि खेलिरहेका छौँ, दबाब छैन। तर, हामीले पनि नतिजा दिन नसकिरहेकाले यसपाली त्यसका लागि प्रयास गर्नेछौँ। विदेश यात्रा गर्दा हामीले हार्ने सोचेर जाँदै छैनौँ। हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौँ।’

एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा महिना दिनयता अभ्यास गरेको थियो। युगाण्डासँगको श्रृंखलापछि भएका कमि कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो।

च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ। प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन्। सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो।

नेपालले प्रतिस्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराइन र कुवेत छन्। कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको बताए।

उनले भने, ‘हामी सबैको एउटै गोल च्याम्पिन भएर आउने हो। र हाम्रो अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौँ भन्ने विश्वास छ। कति मिहिनेत गरेको छ भन्ने खेलाडीहरूलाई थाहा छ, अब नतिजा उनीहरुले खेल्नेमा भर पर्छ। अभ्यासको प्रगति हेर्दा नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु।’

बिदाइ कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए।

नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० जुनमा हङकङसँग खेल्ने तालिका छ।

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्