सुदूरपश्चिमका नौमध्ये आठ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस विजयी

फाइल फोटो

धनगढी – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको हो।

नेपाली कांग्रेसले कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी,बझाङ र अछाममा समन्वय समिति प्रमुखमा जित हाँसिल गरेको छ। एमालेले भने यी कुनै पनि जिल्लामा उपप्रमुख पनि जित्न सकेको छैन।

सोमबार सम्पन्न जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भए भने उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचत भए।

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध भइसकेका छन्। प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका हुन्।

जिल्ला समन्वय समिति डडेल्धुरामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडाली मगर निर्विरोध भएका हुन्।

जिल्ला समन्वय समिति डोटीमा पनि सबै पदाधिकारी निर्विरोध भएका थिए। प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएका हुन्। बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भए भने उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भए।

एउटा तहमा पनि प्रमुख नजितेको दार्चुलामा पनि समन्वय प्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको छ। दार्चुलामा सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन्।

जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी थिइन्।

यस्तै जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध भएको हो।

समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए।

अब बाजुरामा मात्र समन्वय समितिको निर्वाचन हुन बाँकी छ। बाजुराको बुढीगंगा नगरपालिकामा पुन मतदान हुने भएपछि समन्वय समितिको निर्वाचन रोकिएको हो। बाजुरामा भने एक तहको निर्वाचन हुन बाँकी रहे पनि समन्वय समितिका लागि एमालेले बहुमत प्राप्त गरिसकेको छ।

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्