म माटामा मिलेपछि…

किसानी श्रममा उम्रूँ फलूँ वारी र खेतमा
सकूँ पुग्न बनी अन्न भोकाका रिक्त पेटमा
बनी समीर नाचूँ म यिनै प्राकृत गाउँमा
पानी भै बर्सियूँ सुक्खा हरेक ठाउँठाउँमा
म हासूँ फूलको बास्ना बनी आँगनमा सधैँ
गरूँ आनन्दको वर्षा मान्छेका मनमा सधैँ
वर पीपल भै छाया सकूँ दिन म शीतल
मिसिई सरिताभित्र सकूँ बग्न म कल्कल
त्यो महाज्योतिमा मेरो मिसिएपछि तेज यो
म स्वयं ज्योति भै तोडूँ घमण्ड अन्धकारको
मेरो सङ्कीर्ण आकाश जब मिल्छ अनन्तमा
लिई विस्तृति यो फैलूँ विशाल अन्तरिक्षमा
म यिनै छहरा-छाँगा पहरा वन कुञ्जमा
असीम दिव्यता बोक्ने यिनै सौन्दर्यपुञ्जमा
पक्री प्रकृति माताको स्निग्ध वात्सल्यआँचल
परमानन्दको रूप निहारूँ शान्त निर्मल
गाउँले गीतका भाका, उम्दा कला र संस्कृति
नेपाली मनका चोखा दया माया क्षमा धृति
हावा पानी तथा माटो तेज आकाशरूपमा
पाइराखूँ म आफैले हेर्न नौलो सुसिर्जना
बिहानीसित मागेर केही जागृतिको छटा
दिवासँग लिई केही प्रकाशमय दिव्यता
सन्ध्यासँग गरी बिन्ती लाली थोरै लगाउँदै
उडिराखूँ म हावा भै धरतीमा रमाउँदै
चाहना छ नयाँ रूप देख्नपाऊँ म देशको
पाऊँ देख्न म सम्मान आफ्नै भाषा र भेषको
यिनै प्रकृतिका आँखा उघारेर नितन्तर
हे मातूभूमि ! देखूँ म तिम्रो रूप मनोहर
तेरो मेरो भनी व्यर्थै सानो घेरो बनाउन
मन छैन भई मान्छे स्वार्थभित्र रमाउन
फेरि फुल्न म चाहन्न एकपल्ट फुलेपछि
होऊँ प्रकृतिमै लीन म माटामा मिलेपछि।