बालबालिकाको गलत व्यवहार परिवर्तनका लागि सकारात्मक भूमिका कसरी?

नेपाली समाजमा अधिकांश अभिभावक तथा शिक्षक–शिक्षिका बालबालिकाले गल्ती गरे गाली गर्ने, पिट्ने वा तर्साउने गर्नुहुन्छ। ठूलो वा सानो जस्तोसुकै गल्ती भए पनि उनीहरूलाई राम्रोसँग सम्झाई बुझाई गरी उपयुक्त तर्क दिएर उनीहरूका नराम्रा व्यवहार सुधार गर्नुपर्छ भन्ने ज्ञान तथा चेतनाको कमी भएको देखिन्छ।

बालबालिकाले गरेका गल्तीप्रति अभिभावक तथा शिक्षक–शिक्षिकाले रिसाएर, पिटेर, तर्साएर वा धम्क्याएर तत्काल प्रतिक्रिया देखाउँदा उनीहरूको व्यवहारमा प्रतिकूल असर पर्न जान्छ। यसबाट उनीहरूलाई मनोवैज्ञानिक रूपले ठूलो असर परी गलत आचरण तथा संस्कारको उनीहरू सिकार बन्न पुग्छन्। तसर्थ उनीहरूका हरेक क्रियाकलाप वा व्यावहारिक गतिविधिलाई राम्ररी बुझ्न जरुरी छ । उनीहरूका अन्तर मन–मस्तिष्कभित्र कस्ता किसिमका सोच तथा भावना विकास भइरहेका छन्, कुन–कुन कुरामा अन्तरद्वन्द्व भइरहेका छन्, विभिन्न विषयवस्तुलाई कसरी ग्रहण गरिरहेका छन्, किन बुझाइ तथा परिणाम फरक–फरक भइरहेका छन् आदि जस्ता विविध पक्षलाई ध्यान दिन तथा शिक्षक र अभिभावकको निरन्तर छलफल आवश्यक छ।

गलत कामको गलत परिणामले सबैलाई नराम्रो असर पुर्‍याउँछ भन्ने कुराको ज्ञान व्यवस्थित रूपमा शिक्षक र अभिभावक मिलेर दिनुपर्छ। विशेषगरी उनीहरूका सबै क्रियाकलापलाई कसरी अवलोकन गरी असल बानी–व्यवहारलाई पहिचान गर्ने र सधैँ साथ–सहयोग तथा प्रोत्साहन गर्ने खालका वातावरणको खाँचो परिरहेको हुन्छ, त्यसलाई कसरी पूरा गर्ने भनेर प्रत्येक विद्यालय, शिक्षक र अभिभावकले सोच्नुपर्छ। त्यसैले गर्दा वर्तमान समयमा हाम्रो नेपालजस्तो मुलुकमा बालमनोविज्ञानलाई बुझेर उनीहरूले अँगालेका नराम्रा व्यवहारलाई कसरी व्यवस्थित रूपमा परिवर्तन गर्ने, यसका विधि के–के छन्‌जस्ता विषयवस्तुको ज्ञान सबैमा हुन आवश्यक छ। वास्तवमा पारिवारिक पृष्ठभूमिले बालबालिकाहरूका चरित्र निर्माणमा ठूलो भूमिका खेलिरहेको हुन्छ। घरमा दुवै अभिभावक (आमा र बाबु) एवं अन्य सदस्यले देखाउने फरक–फरक दैनिक व्यवहारको असर बालबालिकामाथि प्रत्येक दिन परिरहेको हुन्छ।

बालबालिकाले आफूले चाहेजस्तो व्यवहार अरूबाट नपाएपछि उनीहरूमा नकारात्मक परिणाम देखा पर्न थाल्छ र विस्तारै राम्रा कुराबाट उनीहरू टाढा हुँदै जान्छन्। अध्ययन–अनुसन्धानका अनुसार उनीहरूले घरमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भोगेर प्राप्त गरेका अनुभव तथा सिकाइ नै घरबाहिर आफ्ना साथी वा अन्य व्यक्तिसँग आदानप्रदान गर्ने गर्छन्। जसरी एउटा बच्चाले घरमा आमा र बाबाले चाहेअनुसारको काम नगर्दा उनीहरूलाई कराउने र पिट्ने गरिन्छ त्यसरी नै त्यो बच्चाले पनि विद्यालयमा चाहेजस्तो व्यवहार साथी वा अरूबाट नपाउँदा उनीहरूमा झगडा गर्ने तथा बाझ्ने प्रवृत्तिको विकास हुँदै जान्छ। अझ घरमा मुख छाड्ने र अपशब्द बोल्ने आदत छ भने त्यस्ता शब्दका प्रयोग विद्यालयका गतिविधिमा पनि देखिन्छ।

त्यसैगरी, अर्को बच्चालाई अनुकूल वातावरणमा हुर्काइएको छ र अचानक उसले कुनै गल्ती गर्दा कारणसहित राम्रोसँग सम्झाउने, बुझाउने कोसिस गरिएको छ भने उसले अरुका लागि पनि त्यस्तै खालको अनुकूल वातावरण निर्माण गर्ने प्रयत्न गर्छ। आफूले अपेक्षा गरेजस्तो व्यवहार साथीहरूबाट नभएको अवस्थामा पनि आफ्नो अनुभव वा रिसलाई शान्त र धैर्यपूर्बक कारणसहित साथीहरूलाई राम्रोसँग व्यक्त गरी उनीहरूसँग सुमधुर सम्बन्ध अगाडि बढाउन प्रयत्न गर्छ। त्यसैले गर्दा यस सन्दर्भमा अभिभावक तथा शिक्षक–शिक्षिकाले मनन गर्नुपर्ने कुरा के हो भने कुनै पनि बच्चाले विद्यालय वा कक्षाकोठामा देखाउने हरेक गलत व्यवहारको पछाडि घरको वातावरणका साथै छरछिमेकमा भएका गतिविधिले ठूलो भूमिका खेलिरहेको हुन्छ। बालबालिकाले देखाउने गलत व्यवहार आफैँमा कारक तत्व हैनन्। यसका स्रोत परिवार तथा समाजबाट गरिने देखिने विभिन्न किसिमका गलत गतिविधि नै हुन्।

कतिपय शिक्षिकाले गलत व्यवहारमा केन्द्रित भई त्यसलाई व्यक्तिगत रूपमा लिई कक्षामा झर्किने, रिसाउने, पिट्ने मात्र नगरी आफ्नो पेसागत निराशा (जति भने पनि नहुने तिमीहरूलाई) बालबालिकामाथि पोख्नुहन्छ। यसले कक्षामा अनुकूल शैक्षिक वातावरण निर्माण हुनुको सट्टा तनावपूर्ण वातावरण तयार हुन्छ र सिकाइ बालबालिकाका लागि रमाइलो, चाखलाग्दो नभई जबरजस्तीसँग लादिएको भार वा बाध्यता हुन पुग्छ। त्यसपछि उनीहरूले अभिभावक र शिक्षक–शिक्षिकाका गाली र पिटाइका डरले विद्यालयमा आएर पढ्ने गर्छन्। आफैँले रुचि देखाएर पढ्ने बानीको विकास गर्न सकिरहेका हुँदैनन्। अभिभावक र शिक्षक–शिक्षिकाले भने मात्र पढ्ने वा काम गर्ने परनिर्भरतामा बानी परेको हुन्छ। तसर्थ बाध्यात्मक वा विस्फोटक दृष्टिबाट गरिएको हुर्काइ र सिकाइ संसारभरि नै असफल भएको पाइन्छ। यसरी प्रतिकूल अवस्थामा भएका (रोक्ने, टोक्ने र ठोक्ने) अभिभावकत्व र शैक्षिक गतिविधिले सजाय प्रणालीलाई योग्य र बलियो बनाए पनि यसले बच्चालाई के गर्ने, कसरी गर्ने र किन गर्नुपर्छ भन्ने विषयमा सिकाइ प्रभावकारी र उपलब्धिमूलक हुन सक्दैन। अझ स्पष्ट पार्नका लागि नेपाली समाजका विद्यालयमा ‘के गर्नु हुँदैन’ भन्ने कुरा सिकाएको प्रसंगलाई लिन सक्छाैँ।

कतिपय शिक्षिकाले गलत व्यवहारमा केन्द्रित भई त्यसलाई व्यक्तिगत रूपमा लिई कक्षामा झर्किने, रिसाउने, पिट्ने मात्र नगरी आफ्नो पेसागत निराशा (जति भने पनि नहुने तिमीहरूलाई) बालबालिकामाथि पोख्नुहन्छ। यसले कक्षामा अनुकूल शैक्षिक वातावरण निर्माण हुनुको सट्टा तनावपूर्ण वातावरण तयार हुन्छ र सिकाइ बालबालिकाका लागि रमाइलो, चाखलाग्दो नभई जबरजस्तीसँग लादिएको भार वा बाध्यता हुन पुग्छ।

बालबालिकालाई के गर्नुपर्छ भनेर प्रश्न सोध्दा भएको आफ्नो व्यक्तिगत अनुभवले पनि यही तथ्यलाई पुष्टि गर्छ। उनीहरूलाई के गर्नु हुँदैन? भनेर सोध्दा बुँदाहरू कण्ठस्थ सुनाएको के गर्नुपर्छ? भनेर सोध्दा मौन अवस्था पनि पाइएको छ। त्यस कारण गर्ने कि नगर्ने भन्ने कुरा नसिकाइ के गर्नुपर्छ भन्ने कुरा मात्र सिकायौं भने पनि सही सिकाइ सफल हुन सक्दैन।

हरेक अभिभावक तथा शिक्षक–शिक्षिकाले बालबालिकालाई बुझ्न खोज्नुभयो, उनीहरूले के गर्ने वा उनीहरूलाई के गराउने भन्ने कुराप्रति सचेत हुनुभयो र हरेक गलत व्यवहारको पछाडि भएको कारण खोज्नुभयो भने यसले असल हुर्काइ र सिकाइमा ठूलो भूमिका खेल्न मद्दत पुग्छ। उनीहरूको अपरिपक्व व्यवहार र सिकाइलाई सहज तरिकाले व्याख्या तथा विश्लेषण गरी सहयोग गर्ने, घर तथा विद्यालयमा भएका गलत व्यवहारबारे उनीहरूसँगै छलफल गरी समस्या समाधानका उपाय खोज्न उचित वातावरण निर्माण गर्ने, आफ्ना गल्ती वा कमजोरीको जिम्मेवारी वहन गर्ने, बौद्धिक विकासमा जोड दिने साथै भाषिक क्षमताको अभिवृद्धि गर्नेजस्ता विविध पक्षलाई ध्यानमा राख्दै बालबालिकालाई सजिलैसँग अगाडि बढ्न प्रेरित गर्नुपर्छ।

यसो गर्नाले उनीहरू आफैँले सही र गलत छुट्ट्याएर गलत व्यवहार परिवर्तन गर्न सक्छन्। यसर्थ हरेक बालबालिकामा आउने समस्या र गलत व्यवहारको छुट्टाछुट्टै शीर्षक बनाएर हप्ताको एक दिन कक्षाकोठामा, महिनाको एक दिन अभिभावकसँग विद्यालय परिसरमा र एक वा आधा घण्टा अभिभावकले आ–आफ्ना घरमा छलफल चलाउने हो भने यसले निम्न कुरामा फाइदा पुग्छ–

०  बालबालिकाका भविष्यमा आउने कुनै पनि समस्या समाधानका लागि सुझाव माग्ने पहिलो रोजाइमा तपाईं (अभिभावक) पर्नुहुन्छ। जस्तोसुकै गहन विषयमा पनि उनीहरूको सुझाव माग्ने चाहना सधैँ तपार्इंहरूप्रति बढिराख्न सक्छ।

० उनीहरूले आफ्नो रिसबारे तपाईंसँग कुरा गर्दा तपाईं आफूले रिसाउँदा सामना गरेका अवस्थाबारे उनीहरूलाई सुनाउनु वा बुझाउनुहुन्छ जसले गर्दा उनीहरूको बुझ्ने, सहनशील हुने र चुनौती सामना गर्ने बानी तथा क्षमताको विकास हुन्छ।

बालबालिकाका गलत व्यवहारमाथि तुरुन्तै प्रतिक्रिया देखाउनु, विस्फोट हुनु, कराउनुजस्ता कार्यले नराम्रो व्यवहार परिवर्तन गर्न सहयोग पुग्दैन। त्यही कुरालाई राम्ररी व्याख्या तथा विश्लेषण गर्दा उनीहरूको बुझ्ने क्षमताको विकास हुन्छ।

यसका साथै सधैँ सुदृढीकरण अभ्यास (गलत व्यवहार सुधार्ने मनोवैज्ञानिक विधि) प्रयोग गर्दै जाने हो भने उनीहरूको गलत व्यवहार निश्चित रूपमा चाँडो परिवर्तन हुन सक्छ।

जस्तैः लगातार अगाडि बढ्दै जानु, आफूले जानेको कुरा विस्तृत रूपमा व्याख्या गरी बुझाउनु, आफ्ना अनुभव सुनाउनु, आमा–बुवा, गुरुलगायत सबै मान्यजनलाई सम्मान र सानालाई माया–ममता गर्नु, खेल्ने समयमा साथीहरूसँग खेल्नु, अध्ययनलाई सधैँ गम्भीर रूपमा लिनु, समाजमा मिलेर बस्नुपर्नेजस्ता कारणबारे राम्ररी बुझाउन सकेमा बालबालिकालाई समाजको असल नागरिक बनाउन, सभ्य र विकसित समाज निर्माणमा सहभागी गराउन सकिन्छ। यसका लागि अभिभावक र शिक्षक–शिक्षिका दुवै प्रमुख आधार हुन्। तसर्थ बालबालीकाका असल चरित्र निर्माण गर्न विलम्ब नगर्नु नै बुद्धिमानी हुनेछ।

(लामा एबिसी टेक्निक अफ प्यारेन्टिङबारे जानकार छिन्।) 

असार २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्