स्थानीय तह निर्वाचनमा हुुम्लामा १६९ जना उम्मेदवारको धरौटी जफत हुने

सिमकोट – स्थानीय तह निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ।
वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्यासीको जमानत जफत भएको हो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार निर्वाचनमा सबै पदका लागि उम्मेदवारी दिएका उम्मेदवारमध्ये १६९ जनाको धरौटी जफत भएको छ।

यसमा वडाध्यक्ष, गाउँपालिका उपाध्यक्ष र अध्यक्ष गरी ६४ जना र सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी १०५ जना उम्मेदवारको धरौटी जफत भएको थियो। गाउँपालिकाका अनुसार अदानचुलीमा एक–एक जना अध्यक्ष र उपाध्यक्ष, खार्पुनाथमा एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षको धरौटी रकम जफत भएको छ।

त्यसैगरी चंखेलीमा एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष र १४ जना वडाध्यक्ष, ताँजाकोटमा दुई जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष र ६ जना वडाध्यक्षको जमानत जफत भएको हो।

त्यसैगरी, नाँम्खामा आठ जना वडाध्यक्ष, सर्केगार्ड गाउँपालिकामा एक जना गाउँपालिका अध्यक्ष र १० जना वडाध्यक्षको सो रकम जफत भएको हो।

त्यसैगरी, सिमकोट गाउँपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष र पाँच जना वडाध्यक्षको उक्त रकम जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयले उपलब्ध गराएको विवरणअनुुसार यसरी निर्वाचनका लागि पदअनुसार उम्मेदवारी दिएर धरौटी रकम जफत हुनेमा एमाले, नेकपा विप्लभ, राप्रपा र स्वतन्त्र उम्मेदवार छन्।

धरौटी रकम जफत हुने सदस्य भने सबै गाउँपालिकामा रहेका छन्। कुल खसेको मतमध्ये सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत रकम जफत हुने कानुनी व्यवस्था छ।

असार ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्