जिसस प्रमुखमा एकीकृत समाजवादीका शर्माको उम्मेदवारी घोषणा

सिमकोट – जिल्ला समन्वय समितिका पदाधिकारीका हुने निर्वाचनमा तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेअनुुसार नेकपा एकीकृत समाजवादीका शिवराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

जिसस निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुँदा जिससको प्रमुख पद एकीकृत समाजवादीलाई परेको थियो।

एकीकृत समाजवादी केन्द्रीय सदस्य र हुम्ला जिल्लाका अध्यक्षसमेत रहेका शर्माले जिसस प्रमुुख पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

गठबन्धन दलबीच उक्त पद एकीकृत समाजवादीलाई दिने निर्णय भएअनुुसार नै उक्त पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए।

त्यसैगरी, उपप्रमुख पद नेकपा माअ‍ोवादी केन्द्रलाई परेको छ। उक्त पार्टीले दलुु फडेरालाई उम्मेदवारी दिने निर्णय गरेको छ। उक्त पार्टीलाई अन्य तीन सदस्य परेकोमा महिला सदस्य नाम्खा, दलित महिना ताँजाकोट र खुला सदस्य सर्केगार्ड गाउँपालिकालाई दिने निर्णय गरेको छ।

त्यसैगरी, चार जना सदस्य पाएको कांग्रेसले दुुई जना महिला सदस्य सिमकोटबाट, खुला सदस्यमा खार्पुनाथ र चंखेली गाउँपालिका उम्मेदवारी दिने तयारी गरेको छ। यसका लागि आइतबार अर्थात् असार ५ गते उम्मेदवारी दिने कार्यतालिका छ भने असार ७ गते निर्वाचन हुँदै छ।

समन्वय समितिका लागि जिल्लाका सात वटा गाउँपालिकाका सात जना अध्यक्ष र सात जना उपाध्यक्षले मतदान गर्नेछन्।

गाउँपालिकाका अध्यक्ष उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा कांग्रेसका तीन जना अध्यक्ष र तीन जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने अर्को गठबन्धन दल माओवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित भएका छन्।

एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका थिए भने एक जना उपाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन्। एमालेले भने कुनै पनि पदमा निर्वाचित हुन सकेको थिएन।

असार ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्