नेपालमा कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण (जुन १२ देखि १८ सम्म)

फेरि केही बढ्यो संक्रमण दर

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि डेढ महिनादेखि कोरोना प्यान्डेमिक केही स्थिर देखिएको छ।

डेढ महिनादेखि विश्वको दैनिक कोरोना संक्रमण संख्या ३००००० देखि ६००००० सम्म तलमाथि हुने गरेको छ।

अझै पनि विश्वको दैनिक कोरोना संक्रमण संख्या न्यूनतम बिन्दुमा झर्न सकेको छैन। त्यति मात्र नभई पछिल्लो समय विश्वका केही ठाउमा कोरोना संक्रमण फेरि केही बढ्न खोजेको हो कि भन्ने संकेत देखिएको छ।

युरोपका कतिपय देश जस्तै बेलायत, जर्मनी, फ्रान्सलगायतमा केही हप्तादेखि दैनिक संक्रमण संख्या बढ्दै गएको देखिन्छ। हाल ती देशमा विगतभन्दा २–३ गुणा धेरै दैनिक संक्रमण देखापर्न थालेका छन्।

त्यस्तै, पूर्वी तथा दक्षिण एसियामा पनि दैनिक कोरोना संक्रमणमा केही वृद्धि हुँदै गएको देखिएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वर्ल्डमिटर, आवर वर्ल्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ। दक्षिण एसियाको पछिल्लो ४ हप्ता, सन् २०२२ मे १८ देखि जुन १५, कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो ४ हप्ताको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा केही वृद्धि हुँदै गएको देखिएको छ। जुन गत महिनाको उत्तरार्धको भन्दा ४ गुणाले बढिसकेको छ। एक महिनाअघि करिब २००० जति रहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण ९००० नाघेको छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय भारतमा दैनिक कोरोना संक्रमणमा चार गुणाभन्दा धेरै वृद्धि भई दैनिक करिब ९००० पुगेको छ भने बंगलादेशमा पनि दैनिक संक्रमणमा करिब ८–१० गुणाले वृद्धि भई दैनिक करिब २५० पुगेको छ। पाकिस्तान र अफगानिस्तानमा पनि दैनिक कोरोना संक्रमण केही बढेको देखिन्छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका कुनै पनि देशमा दैनिक मृत्युमा भने खासै वृद्धि हुन खोजेको लक्षण हालसम्म देखिएको छैन।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल दुई हप्ताको बीचमा भारतमा दैनिक कोरोना संक्रमण दर ०.५% बाट २.६% पुगेको छ भने बंगलादेशमा २.५% बाट ६.८% नाघेको छ। दक्षिण एसियाका अन्य देशमा भने दैनिक संक्रमण दर १.०%भन्दा कम छ।

त्यस्तै, अमेरिकामा हाल कोरोना संक्रमण दर ९५% नाघेको छ। स्मरण रहोस्, संक्रमण दर ५% भन्दा धेरै हुनु डब्लुएचओका अनुसार प्यान्डेमिक अनियन्त्रित हुनु हो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुन १२ देखि १८ अर्थात् ०७९ जेठ २९ देखि असार ४ गतेसम्मको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, असार ४ गते शनिबारसम्म देशभरि जम्मा ९३ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७९३४४ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ६० थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२ मा स्थिर छ।

गत हप्ता जम्मा १३४३९ जनामा पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १३६२८ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ७२.०९% संक्रमण देखियो जुन दुई हप्ताअघि ६८.३७% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.४३% देखि अधिकतम १.१६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.७१% रह्यो जुन दुई हप्ताअघि ०.४७% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम देखिँदै आए पनि गत हप्ता संक्रमण दरमा वृद्धि भएको छ।

संक्षेपमा, विश्वका अधिकांश क्षेत्रमा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गए पनि पछिल्लो अवस्थामा अमेरिका र युरोपका केही देशमा संक्रमण संख्या र संक्रमण दर निकै बढेको छ।

त्यस्तै, अस्ट्रेलिया र न्युजिल्यान्डमा हाल पनि कोरोना संक्रमण उच्च छ। पछिल्लो समय दक्षिण एसियाको भारत र बंगलादेशमा पनि दैनिक कोरोना संक्रमण संख्या र संक्रमण दर केही बढेको देखिन्छ।

नेपालमा पनि गत हप्ता नयाँ कोरोना संक्रमण र संक्रमण दरमा केही वृद्धि भएको देखिएको छ। जम्मा दैनिक परीक्षण संख्यासँगै संक्रमण संख्या र संक्रमण दरमा पनि वृद्धि देखिएको छ जुन संक्रमण फैलिएको लक्षण हो।

यसरी अमेरिका, युरोप, दक्षिण एसिया र नेपालमा पनि संक्रमण संख्या र संक्रमण दरमा केही वृद्धि देखिनु प्यान्डेमिकको नयाँ लहरको सूचक हुन सक्छ। यद्यपि, नेपालमा हाल संक्रमण दर निकै न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई यसमा सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असार ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्