भोलिको बैठकबाट कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी

काठमाडौँ – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको छ।

स्रोतका अनुसार सोमबार (भोलि) बस्ने मन्त्रिपरिषदको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिनेछ। गत जेठ २६ गते बसेको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्न मन्त्रालयको प्रस्तावमा अधिकारीलाई तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो।

स्रोतका अनुसार अधिकारीले प्रष्टिकरण दिएका छन् र उनले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको ठहर गर्दै नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २० अनुसार अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाइनेछ।

हालसालै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम ओलेले आफूले भनेको व्यक्तिलाई नियुक्ति नदिएको भन्दै कार्यकक्षमै हातपात गरेका थिए।

सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीले काम गर्छु भन्दाभन्दै मोबाइल बन्द गर्न निर्देशन दिँदै हातपात गरेका थिए। आलेकै प्रस्तावमा अधिकारीलाई गत कात्तिक ८ गते मन्त्रिपरिषदले कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।

सरकारले अधिकारीमाथि विभिन्न १२ वटा आरोप लगाएको छ। त्यसमा कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको, वायुसेवा निगमेका टिकट मनलाग्दी बेचेकोदेखि उनका कारण निगम आर्थिक समस्यामा फस्दै छविसमेत धुमिल भएको आरोप लगाइएको छ।

के के छन् कार्यकारी अध्यक्षमाथि लगाइएको आरोप?


१.नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको,

२.निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्‍याएको,

३.सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराइ सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको,

४. निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको,

५. सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको,

६. निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको,

७. निगमको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको,

८. पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको,

९. कार्यकारी अध्यक्षको यस्ता क्रियाकलापबाट राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको,

१०. निजको नेतृत्वमा निगम सञ्चालन पार्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उल्लिखित कारण र आधारहरूमा निगमको कार्यकारी अध्यक्षमा रहि रहन योग्य नदेखिएको,

११. निजलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने,

१२. कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको।

असार ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्