किसानलाई सहज रुपमा धानको बिउ र मल उपलब्ध गराउन एमाले बाँकेको माग

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।

एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरु आइतबार सार्वजनिक गर्दै एमालेले आफूले उठाएको मुद्दाको समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

एमाले, बाँकेका अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलन गरेर तत्काल सहज र सस्तोमा धानको बिउ र मल उपलब्ध गराउन माग गरे।

एमालेले गतवर्ष बेमौसमी वर्षाका कारण धानबालीको क्षति व्यहोरेका किसानलाई एक हप्ताभित्र राहत रकम दिन, कृषि सिंचाईका लागि नियमित रुपमा विद्युत आपूर्ति गर्न, अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको छ।

पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुको मूल्य फिर्ता गर्न, एसपीपी सम्झौता नगर्न, अर्थमन्त्रीको राजीनामा, स्थानीय तहको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुखलगायत राज्यका निकायबाट ठाडो हस्तक्षेपको विरोध, स्थानीय प्रशासनबाट आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न एमालेले माग गरेको छ।

असार २ गतेको जिल्ला कमिटि बैठकले यी निर्णयहरु गरेको थियो। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु सूर्य ढकाल, मो. हारुन, दिपा शर्मालगायतको उपस्थिति थियो।

असार ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्