संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी

हैजाबारे जान्नैपर्ने ७ प्रश्न

काठमाडौँ- आइतबार स्वास्थ्य मन्त्रालयले काठमाडौँमा एकै परिवारका दुई जनामा हैजा रोगको जीवाणु पुष्टि भएको विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।

झाडापखालाको लक्षण देखिए उनीहरुको नमूना संकलण गरी परीक्षण गर्दा हैजाको जीवाणु पत्ता लागेको मन्त्रायलले जनाएको थियो। योसँग उपत्यकामा हैजा फैलिएको हुनसक्ने अनुमान विज्ञहरुले लगाएका छन्। उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने संक्रामक रोगहरु फैलिन सक्ने भन्दै विज्ञहरुले बारम्बार सबैलाई सजग रहन आग्रह समेत गरिरहेका छन्।

वर्षा याम लागेपछि वर्षेनी नेपालका विभिन्न ठाउँहरुमा हैजाका बिरामीहरु फेला पर्छन्। बिरामी परेकामध्ये कतिको मृत्यु समेत हुने गरेको छ।

यस्तै गएको असोज मध्यतिरबाट कपिलवस्तुमा सुरु भएको हैजा नियन्त्रणमा नआएपछि सरकारले प्रभावित क्षेत्रका २ लाख ५२ हजार ३ सय ६३ जनालाई हैजा विरुद्धको ‘ओरल कलेरा भ्याक्सिन’ खोप दिएको थियो।

विगतका वर्षमा पनि राजधानी काठमाडौँसहित विभिन्न ठाउँमा हैजाको सङ्क्रमण देखिँदै आएको हुँदा सजग रहनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

सामान्यतया: झाडापखालाजस्तो देखिने हैजा कसरी जटिल हुन सक्छ भन्ने विषयमा डा. पुनसँग गरिएको कुराकानीः

के हो हैजा?
हैजा एउटा ब्याक्टेरिया हो। यो ‘कोलेरा भिब्रिओ कोलरी’ नामक जीवाणुको कारणले हुने गर्छ। यसलाई झाडापखाला बनाउने संक्रमणको रुपमा पनि चिनिन्छ। यो अरु संक्रमण भन्दा बढी घातक मानिन्छ। यसको उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुन सक्छ।

कस्ता लक्षण देखा पर्छन्?
संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा यसका लक्षण देखा पर्छन्। यसको संक्रमण भइसकेपछि देखिने लक्षण विषेशत: चामल पखाल्दा निस्कने चौलाने पानी जस्तो दिसा संक्रमित व्यक्तिलाई तारन्तार हुन्छ। यस्तो हुदा बिरामीले कुनै पनि दुखाइ अनुभव भने गर्दैन। जसले गर्दा उसले थाहा पनि पाउदैन कि कति धेरै दिसा गइरहेको छ भन्ने कुरा।

अर्को कुरा एकदमै वान्ता भइरने हुन्छ। पेट अथवा खुट्टाहरुको मांशपेसीहरु बाँउडिने हुन्छ। बेचैनी धेरै हुन सक्छ। बिरामीलाई तिर्खा धेरै लाग्ने, आलस्य हुने हुन सक्छ। र हामीले विशेषगरी पानी, खानेकुराहरु र व्यक्तिगत सरसफाईको कमीले गर्दा हैजा लाग्ने गर्छ। पहिला पहिला पानी फोहोर हुन्थ्यो। अहिले हेर्दा सफा देखिन्छ। पानी किनेर खाने भएका कारण कतिपय व्यापारीहरुले फट्याइँ गरेका हुन सक्छन्। त्यस्तो पानी पिउँदा मानिसहरुलाई हैजा लागेको हो। यो मैले पहिलो पटक नेपालमा अवलोकन गरेको थिएँ- सन् २०१५ तिरको कुरा हो। त्यो पछि नेपालमा पानीहरुमा ‘फोलिक संक्रमण’ धेरै पाइएको भन्ने कुराहरु पनि आइरहेको छ।

हैजाबाट कसरी बच्न सकिन्छ?
खानेकुराहरु खानाका लागि उपयुक्त छ छैन भन्ने थाहा नपाएरै हामी अन्धाधुन्ध किनेर खान्छौँ। त्यसरी खानुभन्दा पनि आफूले थाहा पाएको राम्रो ‘ब्राण्ड’को खानेकुरा खानु पर्छ। अहिलेको अवस्था घर बाहिर गएर खानेकुराहरु खाने प्रचलन बढ्दै गएको छ। त्यसलाई रोक्न आवश्यक छ। अझ भनौँ ‘स्ट्रिट फुड’को सेवन रोक्नुपर्ने देखिन्छ।
स्ट्रिट फुड’को सेवनमा ध्यान दिनुपर्छ भन्नुको मतलब बाटोबाट मात्रै हैजा फैलिन्छ भन्ने होइन। यो घरबाट पनि फैलिन सक्छ। घरमा पनि राम्रोसँग पकाएर खाने कुराहरु खानु पर्छ।

त्यस्तै व्यक्तिगत सरफाइमा ध्यान दिन अत्यन्तै जरुरी छ। किनभने धेरै मानिसहरु लक्षण बिहीन हुन्छन्। यसले गर्दा उसको दिसाबाट हैजाको ब्याक्टेरिया फ्याँकिरहेको  हुन्छ। उक्त व्यक्तिले राम्रोसँग हात धोएन र त्यही हातले खाने कुरा वा पानी अरु व्यक्तिलाई दिँदा उसको हातमा भएको ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्छ।
जुन ठाउँमा धेरै हैजा फैलिएको हुन्छ, त्यो ठाउँमा लक्षण नै नभएका व्यक्तिहरुले हात धुनलाई कन्जुस्याइँ गर्नु हुँदैन।

हैजा भएको थाहा पाए के गर्ने?
अलिकति पखाला लागेपछि केही बेर कुरौँ भन्ने चलन हामीकहाँ छ। तर हैजामा एकछिन हेर्छु र बस्छु भन्न थालियो भने कडा खालको हैजा रहेछ भने उनीहरुमा जटिल अवस्था आउने सम्भावना बढेर जान्छ। तत्काल उपचार नगर्ने हो भने बिरामीको मृत्यु समेत हुन सक्छ।

कति जटिल?
हैजा भएका विरामीलाई पीडा नहुने भएका कारण अन्य संक्रमण भन्दा यो जोखिमपूर्ण मानिन्छ। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने १० जना हैजाका बिरामी मध्यके एक जनालाई कडा किसिमको हैजाको संक्रमण हुने गर्छ। कडा किसिमको संक्रमण भएका बिरामीले समयमै उपचार नपाउने हो भने उनीहरुको मृत्यु हुने सम्भावना धेरै रहन्छ। अर्को कुरा उपचार अभावमा त्यस्ता बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म हुने भनिएको छ।

के छ, उपचार?
रोग लाग्नु भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम मानिन्छ। त्यसैले हैजा फैलिनु अगाडि नै यसविरुद्धको खोप लगाउनु सबै भन्दा राम्रो उपाय हो। स्वास्थ्य सेवा प्रभावकारी नभएको ठाउँमा खोप पुर्याउनु अत्यावश्यक हुन्छ।

हैजाविरुद्धको खोप नेपालमा छ?
मलाई जानकारी भएसम्म नेपालमा हैजाविरुद्धको खोपको सहजता छैन। योभन्दा अगाडि कपिलवस्तुमा हैजाको प्रकोप फैलिदै गर्दा अन्तर्राष्ट्रिय सहयोग लिइएको थियो।
हैजा भएका बिरामीका लागि जीवनजललाई प्राथमिक उपचार मानिन्छ। जटिल अवस्थाका बिरामीलाई भने नसामार्फत सलाइन दिने गरिएको छ। त्यो बाहेक बिरामीलाई एन्टिबायोटिक दिने गरिन्छ।

असार ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्