सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ सार्वजनिक

काठमाडौँ – लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ। काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम् यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवादसमेत गरे। उक्त अवसरमा आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासको विषय एवम् प्रभाव आदि विषयमा आफ्नो मन्तव्य राखे।

नेपालको इतिहासको एउटा कालखण्डको एउटा भूगोलमा दुई विभिन्न जातिको बीचमा एकदम मार्मिक तवरले चित्रण गरिएको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको उनले बताए। साथै भाषिक सौन्दर्यका दृष्टिले पनि उपन्यास अति उपयोगी रहेको उनको भनाइ छ।

‘उपन्यास पढेँ। पढ्दै गर्दा यसले साह्रै मन छोयो। सकिइ त हाल्यो,’ उनले भने, ‘उपन्यास सकिइसक्दा पनि यति छिट्टै किन सकिए होला भन्ने भइरह्यो। एक किसिमको थकथकी लागिरह्यो।’

उपन्यास पढिसकेपछि यहाँका पात्रहरुको अवस्था अहिले केकस्तो होला, कहाँ होलान् भन्ने भान पनि परिरहेको उनले बताए। ‘उपन्यास पढ्दा यस्तो पनि लाग्यो, कताकता यो मेरै गाउँको कथा हो, त्यति मात्र होइन, मेरैबारेमा मलाई नै पात्र बनाएर लेखिएको हो कि भन्ने पनि भइरह्यो,’ उनले भने, ‘उपन्यास पढ्न सुरु गरेपछि छाड्न फिटिक्क मन लाग्दैन। पढिरहूँ लाग्छ। तानिरहन्छ।’

लेखक एवम् अभिनेता खगेन्द्र लामिछानेले उपन्यास पढिरहँदा आफ्नै समाजका कथाव्यथा आफ्नै आँखाअगाडि आएजस्तो प्रतीत भएको बताए। ‘यो उपन्यास मलाई मेरै परिवेशको कथा, मेरै समाजको लाग्यो। आफ्नो गाउँको बारीको डिलमा बसेर तल्तिर, मास्तिर अनि पर्तिरका मान्छेहरुको जीवन हेरिरहे जस्तो पनि लाग्यो,’ उनले भने, ‘भाषिक दृष्टिले त मैले झनै अपनत्व महसुस गरेँ। साह्रै नोस्टाल्जिक भएँ।’ पुस्तक पठनीय रहेको उनको भनाइ छ।

पानीघट्टमा सुरेश प्राञ्जली भाषासँग मज्जाले खेलेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए। एउटा जोहरीले गरगहनामा जसरी काम गर्छ, त्यसरी नै सुरेशले भाषामा काम गरेको उनको भनाइ छ।

‘पहिलो पुस्तक राम्रो लेख्नेले दोस्रो पुस्तक राम्रो लेख्दैन भन्ने नेपालमा एउटा न्यारेटिभ जुन बनेको छ, जुन म मान्दिनँ। त्यो न्यारेटिभलाई सुरेशको नयाँ उपन्यासले भत्काउँछ भन्ने मलाई लाग्छ।’

कार्यक्रममा लेखक प्राञ्जलीले आफूले सानैदेखि गुरुङ एवम् रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैंले उपन्यास लेख्ने जमर्को गरेको बताए। साथै गुरुङ संस्कृतिलाई मूल धारको साहित्यमा ल्याउनुपर्छ भनेर पनि आफूले पानीघट्ट लेखेको उनको भनाइ छ।

‘रोधी संस्कृति, लाहुरे परम्परा आदि विषयमा लेखिएका पुस्तक एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि त्यो अभाव पूर्ति गर्न पानीघट्ट उपन्यास लेखेको हुँ।’

यसअघि तुइनमा आफूले कर्णालीको जनजीवन र संस्कृतिलाई पस्किएको र अहिले गण्डकी भेगको कथा प्रस्तुत गरेको उनले जानकारी दिए।
लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास पानीघट्ट गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो।

तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

को हुन् लेखक?


मूलधारको अखबारी लेखनमा चिनिएको नाम हो, सुरेश प्राञ्जली। सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिकलगायत समसामयिक मामिलामा उनका थुप्रै लेख/टिप्पणी राष्ट्रिय दैनिकमा छापिएका छन्।

नेपाली साङ्गीतिक क्षेत्रमा समेत दरिलो स्थान बनाएका प्राञ्जलीले म्युजिक अवार्ड पनि हात पारेका छन्। दशवर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा लेखिएको तुइन अत्याधिक रूचाइएको उनको पहिलो उपन्यास हो। पानीघट्ट उनको दोस्रो कृति हो।

असार ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्