कति सम्भव छ घरमै छुट्याउन जैविक र अजैविक फोहोर?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन)ले घोषणा गरे– फोहोर व्यवस्थापन नभएसम्म जितको खुसी मनाउँदिनँ।

‘फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा, माला लगाएर सेलिब्रेसन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासी भइरहनुभएको छ,’ गत जेठ १६ गते पदभार ग्रहण गरेपछि उनले भनेका थिए।

बालेन मेयरमा निर्वाचित भएको घोषणा भइरहँदा काठमाडौँ दुर्गन्धित थियो। सडक किनारमा जताततै फोहोरको डंगुर थियो। त्यतिबेला सबैलाई चासो थियो– बालेनले कसरी गर्लान् फोहोर व्यवस्थापन?

उनका लागि यो प्रश्न र चुनौती दुबै हो। किनकि विगत १७ वर्षदेखि काठमाडौँको फोहोरको दुर्गन्ध सहँदै आएका नुवाकोटको सिसडोल–बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएका थिए। फोहोर बोकेका गाडी ल्याण्डफिलसाइट प्रवेश गर्न पाएका थिएनन्।

मेयरमा निर्वाचित भएपछि बालेन पटक–पटक सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगे। स्थानीयसँग कुराकानी गरे। ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधि, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच पटक–पटक भएको छलफलपछि अहिले फोहोर उठ्न थालेको छ।

तत्कालका लागि समस्या समाधान भए पनि फोहोरको दीर्घकालीन व्यवस्थापनको प्रश्न भने कायमै छ। फोहोरको वैज्ञानिक व्यवस्थापन नभएसम्म अहिले देखिएको समस्या फेरि पनि दोहोरिने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने आवाज पनि टट्कारो रुपमा उठिरहेको छ।

नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन प्राथमिकतामा


काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

‘प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी ‘जिरो वेष्ट’ अवधारणा कार्यान्वयन गर्ने नीति लिइने,’ महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।

यसअघि मेयर शाहले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन महानगरवासीलाई अपीलसमेत गरेका थिए।

‘फोहोर उठ्नु मात्रै समाधान होइन। हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ,’ उनले भनेका थिए।

टेकुमा सन् २०१६ मा युरोपियन युनियन स्वीस एसिया प्रोग्रामले फोहोर प्रशोधन गरेर उर्जामा परिणत गर्नका लागि एउटा बायोग्यास प्लान्ट खडा गरेको थियो। तर राम्रोसँग सञ्चालन हुन नपाउँदै प्लान्ट जीर्ण बनेको छ।

महानगरका वातावरण तथा कृषि विभाग प्रमुख सरिता राई यसको प्राविधिक पक्षमा समस्या आएकाले नचलेको बताउँछिन्। अहिले यसलाई सुचारु गर्ने प्रयास भइरहेको उनले जानकारी दिइन्।

उनी भन्छिन्, ‘प्लान्टसँग सम्बन्धित विज्ञहरुलाई हामीले देखाउन कोशिस गरिरहेका छौँ। बनाउनका लागि मान्छेहरु इन्डियाबाट आउनुपर्ने भन्ने कुरा आएको छ। भर्खरै यसको मर्मत गर्ने र यसलाई पुनः सञ्चालन गर्ने विषयमा राष्ट्रिय आविस्कार केन्द्रसँग सहकार्य भइरहेको छ।’ प्लान्टको तीन टनसम्म फोहोर प्रशोधन क्यापासिटी रहेको उनले बताइन्।

काठमाडौँको टेकुस्थित फोहोर प्रशोधन केन्द्र।

महानगरका वन तथा कृषि विभागअन्तर्गतका नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट पनि व्यवस्थापकीय कमजोरीकै कारण बायोप्लान्ट चल्न नसकेको स्वीकार गर्छन्। देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘यो सञ्चालन पनि भएकै हो केही समयसम्म। त्यसपछि बजेटलगायत सबै कुराहरु, प्राविधिकको अभावले गर्दाखेरि बन्द हुन पुग्यो।’

मेयर शाहले पनि उक्त प्लान्ट सञ्चालन गरेर विद्युत उत्पादन गर्न सकिने बताएका छन्। केही दिनअघि  एक कार्यक्रममा उनले भनेका थिए, ‘टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदोरहेछ। करोडौँ लाग्दैन। दुई–तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ।’

के भन्छन् स्थानीय?


विगत लामो समयदेखि जैविक र अजैविक फोहोर एकै ठाउँमा फाल्दै आएका महानगरवासीलाई अब भने केही समय चुनौतीपूर्ण हुनसक्छ। फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि मेयरले देखाएको तदारुकता तारिफयोग्य भए पनि यसको व्यवहारिक पाटो भने सहज नभएको स्थानीय बताउँछन्।

धुम्बाराहीकी अश्मि श्रेष्ठ उचित व्यवस्थापन गरेर मात्रै यो काम सुरु गरिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘हामी भाडामा बस्ने मान्छेलाई गाह्रो छ नि! कसरी छुट्याउने फोहोर? यहाँ मान्छे बस्नलाई कोठा पाउन त गाह्रो छ। झन् अर्गानिक फोहोरलाई कसरी घरमा व्यवस्थापन गर्नु? यसको लागि हामीलाई उचित सल्लाह दिनुपर्छ के गर्ने भनेर।’

विशालनगरमा होटल चलाएर बसेकी मनिका गुरुङ भने आफूहरुले कुहिने र नकुहिने फोहोर छुट्याएर फाल्न थालिसकेको बताउँछिन्।भन्छिन्, ‘हामीले फोहोर त छुट्याएर नै फाल्छौँ। तर सबै अर्गानिक फोहोर भने घरमै व्यवस्थापन गर्न अलि गाह्रो नै छ।’

वातावरण तथा कृषि विभाग प्रमुख राई पनि फोहार उत्पादन हुने स्थलबाटै व्यवस्थापन हुनुपर्नेमा जोड दिन्छिन्। त्यसका लागि सर्वसाधारणले साथ दिनुपर्ने उनको भनाइ छ।

‘कार्यान्वयन स्तरमा कत्तिको पब्लिक सर्पोट हुन्छ भन्ने कुराहरु छन्। यसमा सम्पूर्ण महानगरवासीहरु सचेत हुनुहुन्छ जस्तो लाग्छ,’ राई भन्छिन्, ‘हामीले नगरबासीलाई सकेसम्म घरमा व्यवस्थापन गरौँ र कम फोहोर उत्पादन गरौँ भन्ने कुरामा प्रोत्साहन गर्न जरुरी छ।’

अर्गानिक फोहोरलाई घरमै व्यवस्थापन गर्नसके फोहोरको उत्पादन कम हुने र ल्याण्डफिल साइटमा पर्ने भार पनि कम हुने उनको तर्क छ। ‘अहिले समस्या आएको भनेकै मिक्स फोहोर भएर हो। जब अर्गानिक र ननअर्गानिक फोहोरहरु मिसिन्छ, तब दुर्गन्ध फैलिन्छ,’ उनले भनिन्।

कुहिने फोहोरलाई हप्तामा दुई दिन र नकुहिने फोहोरलाई एक दिन उठाउने तयारी भइरहेको उनले जानकारी दिइन्। उनका अनुसार सामान्यतया घरबाट निस्कने ६० देखि ७० प्रतिशत कुहिने फोहोर हुन्छ। त्यसलाई मात्र व्यवस्थापन गर्न सक्ने हो भने पनि बाँकी ठूलो समस्याका रूपमा रहँदैन।

सजिलै व्यवस्थापन हुनुपर्ने जैविक फोहोरमा सबैभन्दा ठूलो मेहनत र पैसा खर्च भइरहेको उनको भनाइ छ।

तीन वर्ष भनेर १७ वर्ष फोहोर फालियो सिसडोलमा


काठमाडौँको फोहोर नुवाकोटको सिसडोल पुर्‍याइनुअघि मूलपानीस्थित डम्पिङसाइटमा व्यवस्थापन गर्ने गरिएको थियो। उक्त स्थान भरिएपछि ६ जेठ २०६२ देखि सिसडोलमा फोहोर फाल्न थालिएको हो।

त्यतिबेला तीन वर्षका लागि भनेर सम्झौता गरिए पनि सिसडोलले १७ वर्षसम्म काठमाडौँको फोहोरको भार थाम्यो। जहाँ ६५ मिटर अग्लो फोहोरको पहाड बनिसकेको छ।

असार १ गते नुवाकोटको ककनी गाउँपालिका–३ स्थित सिसडोलमा फोहोरको पहिरो जाँदा केहीबेर सडक अवरुद्धसमेत भएको थियो। क्षमताभन्दा बढी फोहोर विसर्जन गरिएपछि बनेको फोहोरको पहाडबाट पहिरो खस्दा फोहोर बोकेर गएका ट्रक बाटोमै रोकिएका थिए। करिब दुई घण्टापछि मात्रै सडक सञ्चालनमा आएको थियो।

०६२ सालमा तीन वर्षसम्म दैनिक ३ सय टन मात्र फोहोर फाल्ने सहमति भएको थियो। त्यतिञ्जलेल बञ्चरेडाँडाको ल्याण्डफिल साइटको निर्माण सकेर फोहोरको स्थायी व्यवस्थापन गर्ने भनिए पनि बञ्चरेडाँडाको काम नसकिँदा उक्त अवधि १७ वर्षसम्म लम्बियो। अहिले काठमाडौँ महानगरपालिकामा दैनिक झन्डै ६ सय मेट्रिक टन ठोस फोहोर जम्मा हुने गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयहरु निर्माण पूरा नहुँदै फोहोर फाल्न सुरु गरिएको भन्दै आक्रोशित छन्। बञ्चरेडाँडाको अवस्था पनि कतै सिसडोलको जस्तो हुने त होइन? भन्ने उनीहरुको चिन्ता छ। कुकुर, काग, चिललगायतले फोहोरको डुंगुरबाट सिनो ल्याएर गाउँबस्ती प्रदूषित पार्न थालेको स्थानीयको गुनासो छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने तत्कालका लागि ल्याण्डफिल साइटमा केमिकल हालेर दुर्गन्ध हटाउने र केही समयभित्रै फोहोरबाट मल बनाउने सिस्टम जडान गर्ने आश्वासन दिएका छन्। यसअघि पनि पटक–पटकका सहमति र सम्झौता कार्यान्वयन नभएको हुँदा स्थानीय भने मेयर शाहको आश्वासनप्रति विश्वस्त हुन सकेका छैनन्।

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्