सांकेतिक तस्बिर।

दाङ – दाङको तुलसीपुर कारागारमा रहेकी एक महिलाले बच्चा जन्माएकी छन्।

कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ति प्रादेशिक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन्। बाँके घर भएकी ३७ वर्षीया ती महिला कैदी अविवाहित रहेको वलीले बताए।

दाङको एक बैंकमा क्यासियर पदमा कार्यरत रहेको अवस्थामा बैंकले रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएको थियो। गतको जेठ २८ गतेदेखि उनी तुलसीपुर कारागारमा छिन्।

उच्च अदालत तुलसीपुरले बैंकको रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो। धरौटी तिर्न नसक्ने भएपछि उनी कारागार चलान भएकी हुन्।

बैंकमा काम गर्दा फेसबुकमा एक व्यक्तिसँग चिनजान भएको र पछि उक्त व्यक्तिले विवाहको प्रस्ताव गरेपछि आफू नजिकिएको उनले बताएकी छन्। आफ्नो बच्चा ती व्यक्तिकै भएको उनको भनाइ छ।

उनले बिहे गर्ने आश्वासन दिएपछि पेटको बच्चा नफालेको उनले बताएकी छन्। ती व्यक्तिले पेटको बच्चा फाल्न भने पनि आफूले नमान्दा उनी पछिल्लो समय आफ्नो सम्पर्कमै नआएको उनको भनाइ छ।

यसअघि तुलसीपुर कारागारमा दुई जना बच्चासहितका कैदी थिए। अब थप एकजना भएसँगै कारागारमा तीन जना बच्चा रहेको कारागारका जेलर वलीले बताए।

अहिले ती महिला अस्पतालमै छिन्। बच्चाको अवस्था सामान्य रहेको छ। महिला डिस्चार्ज भएपछि कारागार ल्याइने जेलर वलीले बताए।

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्