राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाइने

फाइल तस्बिर

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई स–सम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको कार्यसमितिका सदस्य अनिल मल्लले जानकारी दिए।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए।

एन्फा कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवादबारे निर्णय गर्ने बताएका थिए।

 

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्