काठमाडौँ – आजबाट पाँच वर्षदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ।

स्वास्थ्य मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म बालबालिकाहरुलाई अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरेको छ।

पहिलो चरणमा काठमाडौँ उपत्यकासहित २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने मन्त्रालयले जनाएको छ।

त्यस्तै बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने तयारी मन्त्रालयले गरेको छ।

सरकारले पाँच वर्षदेखि एघार वर्षसम्मका ३९ लाख बालबालिकालाई सरकारले कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने याेजना बनाएकाे छ।

विभिन्न अध्ययनका अनुसार खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै सरकारले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि आग्रह गरेको छ।

असावधानीवश संवेदनशील तस्बिर छापिएकामा माफी माग्दै उक्त तस्बिर हटाएका छौँ। (सं.)