एकीकृत समाजवादी सचिवालय बैठकः मन्त्री हेरफेरको विषय छिटो टुंग्याउन दबाब

माधव नेपाल। फाइल तस्बिर।

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन्।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय सचिवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्यूरो, शनिबार हुने केन्द्रिय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषद्को बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए।

उनले भने, ‘नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटोभन्दा छिटो मन्त्रिमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरु भएका छन्। गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो।’

उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको पनि जानकारी दिए।

तुलाधरले भने, ‘हाम्रो पार्टीको केन्द्रिय सविचवालयको २७ औँ बैठक हिजो सुरु भएर आज सम्पन्न भएको छ। मूल रुपमा यो सचिवालयको बैठक अरु तीन वटा बैठकको तयारी स्वरुप बसेको बैठक हो। भोलि पोलिटब्यूरोका बैठक बस्दैछ। शनिबार केन्द्रिय कमिटीको बैठक बस्दैछ। १३ र १४ गते केन्द्रिय परिषद्को बैठक बस्दैछ। सोही बैठकहरुको लागि एजेण्डा तयार गर्नका लागि यो बैठक बसेको थियो भने यी सबै बैठकमा अध्यक्षबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि हामीले गम्भीर छलफल गरेका छौँ। सामान्य सुझाव पनि राख्ने काम भयो।’

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए। उनले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत बताए।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्