फोहोरको समस्या झन् विकराल भयोः मन्त्री झाँक्री

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्।

काठमाडौँमा बिहीबार टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताइन्।

उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्। उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन्।

मन्त्री झाँक्रीले काठमाडौँका मानिसले गरेको फोहोर बञ्चरेडाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन्।

उनले शौचालयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताइन्।

फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भए पनि समाधान केन्द्र बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘सहरमा आइसकेपछि सहरका समस्या झन् विकराल छन्। सहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबीको जीवनलाई निवारण गर्नेभन्दा झन् ठूलो समस्या छ। सहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन्। आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोर बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबी घटाउन लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामथ्र्य, ऋण, पैसा, आम्दानी सबै कुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। काठमाडौँमा बस्ने मान्छेले फोहोर गर्छौं। बञ्चरे डाँडामा सम्पूर्ण फोहोरका लागि ल्यान्डफिल्ड साइट बनाएका छौँ। फोहोर फालेका छौँ, त्यससँग निस्किने सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ। हामीले ट्वाइलेट ढलमा मिसाएका छौँ। ढल खोलामा मिसाएका छौँ। त्यसको ट्रिटमेन्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेन्ट प्लान्ट बनाउनुपर्छ। यो हामी सुल्टो बाटो हिँडेको होइन, तैपनि यो हाम्रो बाध्यता हो।’

अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न नसके पुस्तौँसम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण हुने उनले बताइन्।

मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन्।

इक्षुमती वा तुखुचा (अपभ्रंश टुकुचा) खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ। तर अव्यवस्थित सहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ। ट्रिटमेन्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई बागमती नदीमा मिसाउने योजना रहेको उनले जानकारी दिइन्।

प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ।
यसबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ। यस परियोजनाअन्तर्गत घाटको मर्मत सम्भार र पुनःस्थापना गर्ने कार्ययोजना छ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्