‘न्यायाधीशको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको छ’

फाइल तस्बिर।

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौँका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको बताएका छन्।
उनले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति नै गठन गरिएको स्पष्ट पारे।

संसद् भवन परिसरमा सञ्चारकर्मीले बिहीबार राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायालय सुधारका लागि अभियान नै सञ्चालन गरिएको दाबी गरे।

न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउन सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए।

उनले भने, ‘विगत केही समयदेखि यति धेरै न्यायालयप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजबिन गर्दै छौँ। कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ। त्यो घटनाबाहेकलाई हेर्ने हो पनि न्यायालयभित्र विकृति र विसंगति थियो। त्यसविरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्न अभियान नै सञ्चालन गरिएको छ। त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’

मन्त्री कोइरालाले न्यायालयभित्रको गिर्दो आस्थालाई जोगाउन सरकार लागिपरेको बताए।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्