‘नेपाल स्टार्टअप फेस्ट’ शनिबार

काठमाडौँ – नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौँमा ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ।

परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो।

असार ११ गते शनिबार काठमाडौँको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको सहयोग रहेको छ।

स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले जनाएको छ।

यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समयावधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना पस्ताव आएको थियो। जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघको भनाइ छ।

स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने आयोजक जनाएको छ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ। यसका साथै ४० बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन्।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्