हामीले सोचेका थिएनौँ नेपालमा यति स्वागत हुन्छः भारतीय तीर्थयात्री

जनकपुरधाम – रामायण सर्किटअन्तर्गत भारत सरकारले रेल्वे सेवा शुभारम्भ गरेको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार खुलेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार नेपालको जनकपुरधाममा आएपछि रेलमा यात्रा गरिरहेका तीर्थालुलाई भव्य स्वागत गरियो।

प्राचीन मिथिलाको राजधानीसमेत रहेको जनकपुरधाम रामायण सर्किटको मुख्य स्थानमध्ये एक रहेकाले रामायण सर्किटअन्तर्गत चलेको रेल तेस्रो दिन जनकपुरधाम पुग्यो।

जनकपुरधाम रेल पुग्ने पूर्वनिर्धारित रहेकाले रेलको यात्रा गरिरहेका तीर्थालुको स्वागतका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत स्वयं स्वागत गर्न पुगेका थिए।

उनले जनकपुरधाम रेल्वे स्टेसनमा रेल रोकेपछि रेलबाट ओर्लेका तीर्थालुलाई माला लगाएर स्वागत गरेका थिए।

१८ दिनको यात्राको तेस्रो दिन रेल जनकपुरधाम पुग्दा रेलयात्रुले भने अपेक्षा गरेभन्दा बढी सत्कार पाए।
‘भारत गौरव पर्यटक ट्रेन’ मा यात्रा गरिरहेका इन्दौरका ओम लोखण्डवालेले आफूहरूले यहाँ यति स्वागत हुन्छ भनेर नसोचेको बताए।

उनले भने, ‘हामीले सोचेका थिएनाैँ कि नेपालमा यति स्वागत हुन्छ भनेर। जसप्रकारले नेपाल सरकार र यहाँका स्थानीयले हामीलाई स्वागत गरे, त्यो अद्भुत हो।’

लोखण्डलालेका श्रीमतीले नेपालमा आफूहरूको यसप्रकारले स्वागत सत्कार हुँदा मनभित्रैदेखि खुसी भएको बताइन्।

यस्तै, कुरुक्षेत्रबाट रामायण सर्किटको भ्रमणमा आएका हरिओम शर्माले भारत र नेपालको आजको सम्बन्ध सदियौँ पुरानो रहेको बताए।

यसै पुरानो मूल्य–मान्यतालाई पुनःस्थापित गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको पहल सार्थक रहेको बताए।

उनले नेपाल आफू कैयौँ पटक आए पनि जनकपुरधाम पहिलो पटक आएको र यहाँ आउँदा अति नै खुसी लागेको प्रतिक्रिया दिए।

यता, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतलाई जोड्ने यस पर्यटन रेलले दुबै देशको पर्यटनका लागि महत्वपूर्ण दिन रहेको बताए।

उनीहरूको भ्रमणलाई लिएर प्रदेश सरकार उत्साहित रहेको भन्दै यसले दुबै देशबीचको सम्बन्ध अझ बढ्ने बताए।

यसलाई निरन्तरता दिन सम्बन्धित निकायसँग कुरा गर्ने मुख्यमन्त्री राउतले बताए। यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दासले जनकपुरधाम पुगेका तीर्थालु पहिले जानकी मन्दिर दर्शन गर्न आउने आफूहरूले जानकारी पाएको बताए।

त्यसपछि उनीहरू गंगासागरमा हुने गंगाआरतीमा सहभागिता जनाउने र पुनः जानकी मन्दिरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताए।

उनीहरू शुक्रबार धनुषाधाम पुग्ने कार्यक्रम रहेको बताए। त्रेता युगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको पिनाक धनुषमा प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो जसको एक टुक्रा आकाशमा, एउटा पातालमा र एउटा टुक्रा पृथ्वीमा झरेको वाल्मीकि रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल नै हो धनुषाधाम।

धनु्षाधाममा फर्केपछि रेल्वे भारतको सीतामढीका लागि निस्कने उत्तराधिकारी महन्थ दासले बताए। रेल्वेले रामायणसँग जोडिएको ८ हजार किलोमिटरको यात्रा १८ दिनमा पूरा गर्नेछ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्