कांग्रेसका प्रदेश सभापतिले गरे लमही नगर सभाको उद्घाटन

दाङ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनले लमही नगरपालिका दोस्रो नगर सभाअन्तर्गत भएको पहिलो अधिवेशनको उद्घाटन गरेका छन्।

पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिलाई स्थानीय तहको अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी गराइएको हो।

लमही नगरपालिकाले पूर्वमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका पुनलाई अधिवेशन उद्घाटन गरिदिन आमन्त्रण गरेको थियो।

सोही आमन्त्रणको आधारमा पार्टी सभापति पुनले बिहीबार लमही नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन गरेका हुन्। लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले ऐन, कानुन पालना गर्दै स्थानीय तहले आफ्नो भूमिकालाई अघि बढाउन सुझाव दिए।

लुम्बिनी प्रदेश सभाबाट गाउँ सभा/नगर सभाको कार्य सञ्चालन सम्बन्धमा ऐन बनेको छ। लमही नगरपालिकामा प्रमुख, उपप्रमुखसहित एक वडाबाहेक सबै वडा अध्यक्ष र सदस्यमा कांग्रेसका जनप्रतिनिधि निर्वाचित भएका थिए।

वडाध्यक्षसहित लमही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले योजनाको प्राथमिकीकरण र पूर्वतयारी गर्न योजना बंैक सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने उल्लेख गरे।

दामोदर मार्गलाई चक्रपथको रुपमा स्तरवृद्धि गरी नगर बस सञ्चालनका चारकिल्ला निर्माण गरिने, दिगो यातायात र पूर्वाधार, आर्थिक समृद्धिको आधार भन्ने नारा अवलम्बन गर्दै लमहीदेखि वसन्तपुर हुँदै शीतलापुरसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउने उल्लेख गरिएको छ। सिंगे बलरामपुर हुँदै अमिलिया जोड्ने चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिइने विषयलाई प्राथमिकता दिइएको छ।

 

 

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्