विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार

मोरङ – भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थमा विराटनगरको रानी क्षेत्रबाट १३ वर्षीया बालिकाको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार झापा विर्तामोड घर भएकी १३ वर्षीया बालिका घर नजिकैको नाट्यशालामा जाने क्रमबाट बेपत्ता भएकी थिइन्।

बिर्तामोड–४ की बालिकाले शनिबार परिवारलाई घरबाट नृत्य सिक्न निस्केको जनाउँदै बेपत्ता भएकी थिइन्।
प्रहरीले बालिकालाई आइतबार राति रानी क्षेत्रबाट उद्धार गरिएको र दुई जना पुरुषलाई समेत पक्राउ गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बालिका बेपत्ता भएपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजीका लागि निवेदन दिएका थिए।
सोही क्रममा मोरङबाट भारततर्फ लैजाने क्रममा शंका लागेपछि प्रहरीले आइतबार राति बालिकालाई ‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा उद्धार गरेको हो।

सो क्रममा प्रहरीले भारत मुजफ्फपुर घर भई बिर्तामोड नगरपालिका मूर्तिचौकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका– ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई पक्राउ गरेको छ। प्रहरीले दुवै जनाले बालिकालाई भारततर्फ बिक्रीका लागि लैजान लागेको आशंका गरेको छ। पक्राउ परेका दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्